Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, कार्तिक, ९
मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

धनुषा । मिथिलाञ्चलमा आज (शनिबार) देखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो धार्मिक पर्वका रूपमा रहेको छठका अवसरमा जनकपुरधामका विभिन्न घाटहरूमा सजावट र सरसफाइको काम अन्तिम चरणमा पुगेको छ ।

जनकपुरधामका प्रमुख घाटहरू गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरर्वा पोखरी लगायतमा बत्ती र पण्डाल लगाउने काम भइरहेका छन् । गङ्गासागरमा यस वर्ष पनि विगतजस्तै आधा भागमा सजावटको काम गरिएको छ भने सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।

घाट व्यवस्थापन समितिहरूले श्रद्धालु भक्तजनहरूबाट सहयोगस्वरूप संकलन गरिएको रकमबाट घाटको सरसफाइ, बत्ती, र व्यवस्थापनको खर्च व्यहोर्ने गरेका छन् । समितिहरूले अर्घ्य राख्न आउनेहरूलाई कुनै दबाब नदिइ, स्वेच्छिक रूपमा सहयोग गर्न आग्रह गर्ने गरेको जनाइएको छ ।

जनकपुरधामका विभिन्न पोखरीहरूमा प्रहरी प्रशासनसँग समन्वय गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि गङ्गासागर र अरगजासर लगायतका घाटहरूमा हजारौँ श्रद्धालुहरूले अर्घ्य अर्पण गर्ने अपेक्षा गरिएको छ ।

मिथिलाञ्चलमा मनाइने छठ पर्व पूर्ण रूपमा घरेलु उत्पादनमा निर्भर रहँदै आएको छ । श्रद्धालुहरूले आफ्नै खेतबारीमा उत्पादन गरिएको गहुँ र चामल धोएर, घरमै पिसेर त्यसको पिठोबाट ठेकुवा, भुसवा लगायतका पकवानहरू तयार गर्छन् ।

त्यस्तै, बजारमा पनि छठका सामग्री खरिद गर्ने भीड बढेको छ । जनकपुरधामका बजारहरूमा बाँस र माटोबाट बनेका घैँटो, छिट्टी, टोकरी, नाङ्लो, कनसुपती, कलश, हात्ती आदिको बिक्री चहलपहल छ । बाँस र माटोबाट बनेका वस्तुहरू शुद्ध र पवित्र मानिने भएकाले यसको माग उल्लेखनीय रूपमा बढेको छ ।

चारदिनसम्म चल्ने छठ पर्व आज ‘नहाय–खाए’ विधिबाट सुरु भएको छ । भोलि आइतबार ‘खरना’ अर्थात् उपवास र रातमा खीर अर्पण गर्ने विधि हुनेछ । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरिनेछ ।

Top Changing Nepal

युट्युब सट्स