महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लागेर सामान्य रहेको महोत्तरीको जनजीवन पुस सुरु भएसँगै एकाएक बढेको चिसोले प्रभावित बन्न थालेको छ । बाक्लो हुस्सु र चिसो बतासका कारण विशेष गरी गरिब तथा पिछडिएका समुदायका बस्तीहरू बढी मारमा परेका छन् ।
जिल्लाको दक्षिणी भेगमा पुस लागेसँगै आईतबार बिहानदेखि मध्याह्नसम्म बाक्लो हुस्सुले ढाक्ने र चिसो बतास चल्ने क्रम बढेपछि दैनिकी कष्टकर बनेको छ । काममा निस्कन नसक्ने अवस्था सिर्जना हुँदा दैनिक ज्यालादारी गरेर जीवन चलाउने परिवारको गुजारा झन् कठिन भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
दक्षिणी क्षेत्रमा केही दिन अघिदेखि नै चिसो बढे पनि जिल्लाको उत्तरी भेगमा भने पछिल्ला दिनदेखि हुस्सु र जाडोको प्रभाव तीव्र बनेको हो । यसअघि घाम लागिरहेको बर्दिवास, गौशाला, औरही र भङ्गाहा क्षेत्र शुक्रबारदेखि एकाएक बाक्लो हुस्सुले ढाकिएको छ । मध्याह्नपछि हुस्सु केही फाटेपनि पारिलो घाम नलाग्दा दिनभरि नै चिसो कायमै रहने गरेको छ ।
बढ्दो चिसोले अति विपन्न समुदायका बस्तीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । मुसहर, डोम, हलखोर, मेस्तरजस्ता समुदायका बस्तीमा दाउराको अभाव हुँदा सडकमा फालिएका झुत्रा लुगा, प्लास्टिक र फोहोर सामग्री बालेर जाडो छल्नुपरेको अवस्था छ । धुवाँ र चिसोबीच दिनरात बिताउनुपर्दा स्वास्थ्य जोखिम पनि बढ्दै गएको छ ।
बिहानीपख लाग्ने बाक्लो हुस्सुले हवाई र सडक यातायातसमेत प्रभावित हुन थालेको छ । हुस्सुका कारण मध्याह्नअघिका हवाई उडानहरू प्रभावित हुँदै आएका छन् भने सडक यातायातका साधनहरू पनि ठाउँ ठाउँमा रोकिनुपर्ने अवस्था आएको चालकहरू बताउँछन् ।
चिसो बढेपछि खेतीपाती, मजदुरी र व्यापार व्यवसायमा समेत असर परेको छ । मध्यान्हपछि घाम मधुरो हुने र चिसो सिरेटो लगातार चल्दा बजार क्षेत्र सुनसान देखिन थालेको छ । किसानहरू बिहानै खेतमा जान नसक्ने अवस्था आएको बताउँछन् भने व्यापारीहरू व्यापार घट्दै गएको गुनासो गर्छन् ।
जाडो अझै बाँकी रहेकाले वृद्धवृद्धा, सुत्केरी महिला र साना बालबालिकाको स्वास्थ्यप्रति चिन्ता बढ्दै गएको छ । पोषणयुक्त खाना, न्यानो लुगा र सरसफाइको अभावले पराले झुप्रा भएका बस्तीहरू चिसोको उच्च जोखिममा देखिएका छन् ।
यसैबीच, जिल्लाका स्वास्थ्य संस्थाहरूले चिसोबाट जोगिन सचेतनामूलक सूचना प्रसारण गरिरहेका छन् । बिहान बेलुका अनावश्यक बाहिर ननिस्कन, न्यानो स्थानमा बस्न, झोलिलो खानेकुरा खान र घर वरपर सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । फोहोर कपडा, प्लास्टिक र विषालु सामग्री बालेर आगो ताप्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यसो नगर्न पनि अनुरोध गरिएको छ ।
चिसोले जनजीवन कष्टकर बन्दै गएपछि सामाजिक संघसंस्थाहरूले स्थानीय तहलाई गरिब र दलित बस्तीमा तत्काल सहयोगका कार्यक्रम अघि बढाउन आग्रह गरेका छन् । दाउरा, न्यानो कपडा र आधारभूत राहतको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।
जिल्ला समन्वय समितिले पनि जिल्लाका सबै स्थानीय तह र विपद् व्यवस्थापन निकायलाई चिसोबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्न आग्रह गरेको छ । चिसो अझै बढ्ने अनुमान गरिएकाले आवश्यक सतर्कता र समन्वय जरुरी रहेको समितिको भनाइ छ ।




