काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज बुधबार २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गरिनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणमार्फत संकलित रकमको साँवा तथा ब्याज आगामी ११ चैतमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।





