ताप्लेजुङ । ताप्लेजुङको मैवा खोला गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै विपन्न नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले करिब एक हजार दलित तथा अति विपन्न परिवारको स्वास्थ्य बीमा शुल्क आफैंले व्यहोर्ने घोषणा गरेको छ।
गाउँसभाको १९औँ बजेट अधिवेशनमा उपाध्यक्ष कमलकुमारी लिम्बूले प्रस्तुत गरेको बजेटमा सामाजिक विकास, स्वास्थ्य सेवा पहुँच विस्तार तथा लक्षित वर्गको जीवनस्तर सुधारलाई मुख्य प्राथमिकता दिइएको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा प्रस्तुत बजेट आगामी आर्थिक वर्षका कार्यक्रम तथा योजनाको आधार दस्तावेजका रूपमा अघि सारिएको हो।
गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरी आर्थिक रूपमा कमजोर परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच दिलाउने लक्ष्य लिएको जनाएको छ। यस कार्यक्रममार्फत बीमा शुल्कको भार स्थानीय सरकारले व्यहोर्ने भएकाले विपन्न समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
बजेटका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीलाई मुख्य स्रोतका रूपमा लिइएको छ। संघीय वित्तीय समानीकरण अनुदानबाट ९ करोड ५३ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदानबाट ८४ लाख ८९ हजार रुपैयाँ तथा संघीय सशर्त अनुदानबाट १६ करोड ४४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, गाउँपालिकाले आन्तरिक राजस्वबाट ६ करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखेको छ। संघीय राजस्व बाँडफाँडबाट ७ करोड ५३ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ५३ लाख रुपैयाँभन्दा बढी तथा विशेष अनुदानमार्फत १ करोड ६० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
गाउँपालिकाले समपूरक अनुदान र गैरसरकारी संस्थाहरूको सहकार्यबाट समेत थप स्रोत जुटाइने जनाएको छ। यसअघि पारित नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गरिने र विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने गाउँपालिकाको भनाइ छ।


