Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २४
मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

काठमाडौं । मध्यपूर्वमा फेरि सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्य उकालो लागेको छ। अमेरिका–इरानबीचको पछिल्लो द्वन्द्व र ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षाप्रति बढ्दो चिन्ताले विश्व बजारमा तेलको भाउ लगातार दोस्रो दिन पनि उल्लेखनीय रूपमा बढेको हो।

बुधबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.५९ प्रतिशतले वृद्धि भएर प्रतिव्यारेल ७६.०८ अमेरिकी डलर पुगेको छ। त्यस्तै, डब्लूटीआई (वेस्ट टेक्सास इन्टरमिडियट) क्रुडको मूल्य पनि २.६० प्रतिशतले बढ्दै प्रतिव्यारेल ७२.२७ अमेरिकी डलरमा कारोबार भएको छ। यसअघि मंगलबार मात्रै पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य झण्डै ३ प्रतिशतले उकालो लागेको थियो।

अमेरिकाले इरानविरुद्ध हवाई आक्रमण गर्नुका साथै इरानी कच्चा तेल बिक्रीमा दिइएको अनुमति पुनः रद्द गरेपछि विश्व बजारमा तेल आपूर्तिमा असर पर्ने अनुमान बलियो बनेको छ। अमेरिकी सेनाले हर्मुज जलडमरूमध्यमार्फत यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजमाथिको आक्रमणको प्रत्युत्तरस्वरूप इरानमा हवाई कारबाही गरिएको जनाएको छ।

विश्व ऊर्जा आपूर्तिको दृष्टिले रणनीतिक मानिने हर्मुज जलडमरूमध्यबाट विश्वको करिब २० प्रतिशत तेल तथा ऊर्जा ढुवानी हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ। तनाव लम्बिएर ढुवानीमा अवरोध आए तेलको मूल्य अझै बढ्न सक्ने आकलन गरिएको छ।

यसअघि अमेरिका–इरानबीच युद्धविराम भएपछि बजारमा तेल आपूर्ति सहज हुने अपेक्षासहित मूल्य घट्ने अनुमान गरिएको थियो। त्यसकै आधारमा धेरै लगानीकर्ताले तेलको मूल्य ओरालो लाग्ने अपेक्षामा ’सर्ट पोजिसन’ लिएका थिए। तर पछिल्लो घटनाक्रमले बजारको मनोविज्ञान फेरि बदलिएको विश्लेषकहरूले बताएका छन्।

यता कतारले आफ्नो एलएनजी ट्यांकरसहितका जहाजमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। इरानले भने उक्त आरोप अस्वीकार गर्दै आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।

Top Changing Nepal

युट्युब सट्स