एक युवतीको यहि पत्रले बलात्कारी रामरहिमलाई १० बर्ष कारावासको जिवन जिउन बाध्य बनायो
माननीय प्रधानमन्त्रीज्यू,
श्री अटलविहारी बाजपेयी (भारत सरकार)
विषय: डेराका महाराजद्वारा सयौं केटीहरुमाथि गरिएको बलात्कारको जाँच गरिदिनुहुन ।
श्रीमान्ज्यू,
म पन्जाब निवासी हुँ र पाँच वर्षदेखि डेरा सच्चा सौदा सिरसा (हरियाणा धन धन सतगुरु तेरा ही आसरा) मा साधु केटीका रूपमा कार्यरत छु । मजस्ता सयौं केटीहरु डेरामा १६ देखि १८ घण्टा सेवा गर्छन् । यहाँ हाम्रो शारीरिक शोषण गरिन्छ साथै डेराका महाराज गुरुमित सिंद्वारा यौनिक शोषण (बलात्कार) समेत हुन्छ । म बीए पास गरेकी केटी हुँ । मेरो परिवारका सदस्य महाराजका अन्ध श्रद्धालु छन्, जसको प्रेरणाबाट म डेरामा साधु बनेकी थिएँ ।
साधु बनेको दुई वर्षपछि महाराज गुरमितकी प्रेमीका साधु गुरजोतले एक रात १० बजे मलाई महाराजले गुफा (महाराज बस्ने स्थान) मा बोलाएको कुरा बताइन् । म पहिलो पटक त्यहाँ गैरहेकी थिए, त्यसैले एकदमै खुसी थिए । मलाई लागिरहेको थियो कि खुद परमात्माले मलाई बोलाएका छन् । गुफा माथि पुगेर हेर्दा महाराज बेडमा बसिरहेका थिए । उनको हातमा रिमोट थियो, अगाडिको टिभीमा ब्लू फिल्म चलिरहेको थियो । बेडको सिरानीमा रिभल्भर राखिएको थियो । त्यो सब देखेर म हैरान भए, मेरो खुट्टामुनिको जमिन भासियो । यो के भैरहेको छ ?
महाराज यस्ता होलान भनेर मैले सपनामा पनि सोचेकी थिइन् । महाराजले टिभी बन्द गरे र मलाई साथमा बसाएर पानी पिलाए अनि भने मैले तिमीलाई आफ्नी खास प्यारी सम्झेर बोलाएको हुँ । त्यो मेरो पहिलो दिन थियो । महाराजले मलाई अंगालो मार्दै भने म तिमीलाई हृद्धयदेखि चाहन्छु । तिमीसँग प्रेम गर्न चाहन्छु, किनभने तिमीले साधु बन्ने समयमा तन, मन, धन सबै सतगुरुलाई अर्पण गर्ने कुरा बताएकी थियौं । त्यसैले अब तिम्रो तन, मन मेरो हो । मैले विरोध गर्दा उनले कुनै शंका छैन् म नै भगवान हुँ भने । जब मैले सोधे, के भगवानको काम यही हो ? उनले भने :
१) श्री कृष्ण भगवान थिए, उनी कहाँ ३ सय ६० गोपिनी थिए जोसँग उनी हरेक दिन प्रेम लीला गर्थे, तै पनि मानिसहरू उनलाई परमात्मा मान्थे । यो कुनै नयाँ कुरा होइन् ।
२) मैले चाहे भने यो रिभल्बरले प्राणपखेरु उडाएर यही आश्रममा तिम्रो दाहसंस्कार गर्न सक्छु । तिम्रो घरपरिवार सबै प्रकारले ममाथि विश्वास गर्छ, उनीहरू मेरा गुलाम हुन् । उनीहरू मभन्दा बाहिर जान सक्दैनन्, यो कुरा तिमीलाई राम्रोसँग थाहा छ ।
३) हाम्रो सरकारमा धेरै चल्छ । हरियाणा र पन्जाबका मुख्यमन्त्री तथा केन्द्रीय मन्त्रीहरू मेरो चरण छुन्छन् । राजनीतिज्ञहरू सधैं हाम्रो समर्थन लिन्छन्, पैसा लिन्छन् त्यसैले हाम्रो विरोधमा कहिल्यै जानेवाला छैनन् । हामी तिम्रो परिवारका नोकरी लागेका सदस्यहरूलाई यहाँबाट बर्खास्त गरिदिनेछौं ।
म ती सबै सदस्यलाई मारिदिनेछु र प्रमाण पनि छोड्ने छैन् । यो तिमीलाई राम्रोसँग थाहा छ कि हामीले यसअघि पनि डेराका प्रबन्धक बजिर चन्दलाई समाप्त पारेका थियौं । हामी पैसाको बलमा राजनीतिज्ञ, पुलिस तथा न्याय खरिद गर्न सक्छौं । यसरी धम्क्याएर उसले मसँग यौन दुव्र्यवहार गर्यो र पछिल्ला तीन महिनामा २०—३० पटक यस्तै गरिसकेको छ ।
आज मलाई थाहा भयो कि मभन्दा पहिले पनि जुन केटीलाई उनले आफ्नो कोठामा बोलाउँथे उनीहरूसँग पनि यस्तै यौन दुव्र्यहार गरिन्थ्यो । डेरामा रहेका ३५—४० जना साधु महिला ३५—४० वर्षभन्दा माथिका छन् । जसको विवाहको उमेर घर्किसकेको छ, उनीहरूले परिस्थितिसँग सम्झौता गरिसकेका छन् । तीमध्ये धेरैजसो महिला बीए, एमए तथा बीएड उत्तीर्ण छन् । घरपरिवार कट्टर अन्धविश्वासी भएका कारण उनीहरू नरकको जीवन बिताइरहेका छन् ।
हामीलाई सेतो लुगा लगाउन, टाउकोमा चुन्नी राख्न, कुनै पुरुषलाई आँखा उठाएर हेर्न बन्देज लगाइएको छ भने लोग्ने मानिसहरूबाट पाँच—दश फुट टाढै बस्न महाराजको आदेश छ । हामी हेर्दा देवी हौं, तर हाम्रो हालत वेश्याको जस्तो छ । मैले एक पटक आफ्नो परिवारका सदस्यहरूलाई डेरामा केही पनि ठीक छैन भने तर परिवारका सदस्यहरू रिसाउँदै कराउन थाले–भगवानसँग बस्दा ठीक छैन भने कहाँ ठीक हुन्छ त ? तेरो मनमा गलत विचार आउन थाल्यो । सतगुरुलाई सम्मान गर ।
म एकदमै मजबुर छु । यहाँ सतगुरुको आदेश मान्नुपर्छ । यहाँ कुनै दुईवटी युवती आपसमा कुराकानी गर्न सक्दैनन्, घरपरिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँदैनन् । घरपरिवारको फोन आए पनि महाराजको आदेशअनुसार टेलिफोन वार्तामा पूर्णत: बन्देज लगाइएको छ । यदि कुनै युवतीले डेराको यो सत्यताका बारेमा कुरा गर्न थाले उसको मुख बन्द गरिदिनु भन्ने महाराजको आदेश छ ।
पछिल्ला दिनहरूमा जब भठिण्डा (पन्जाब)की एक साधु युवतीले महाराजका काला कर्तुत सबै महिलाहरूका अगाडि खुलासा गरिन तब कयौं साधु युवती मिलेर उनलाई कुटपिट गरे । घर गैसकेकी कुरुक्षेत्र जिल्लाको एक युवतीले घरपरिवारलाई डेराको यर्थात बताइदिइन् । उनका भाइ डेराका सेवादार थिए, उनले सेवा छाडेर डेरासँगको नाता तोडे ।
संगरुर जिल्लाकी एक युवतीले घर आएर छिमेकीहरूसँग डेरामा हुने कालो कर्तुतका बारेमा बताइन् । त्यसपछि बन्दुकले लैस डेराका गुण्डाहरू केटीको घर पुगे । उनीहरूले कोठाको चुकुल लगाएर विभिन्न धम्की दिँदै भविष्यमा कसैलाई केही नभन्न भने । यस प्रकारका कयौं युवती मानसा, फिरोजपुर, पटियाला, लुधियाना जिल्लामा छन्, जो घर पुगेर पनि चुपचाप छन् किनभने उनीहरूको ज्यानमाथि खतरा छ । यसैगरी सिरसा, हिसार, फतेहावाद, हनुमानगढ, मेरठ आदि जिल्लाका कयौं युवती डेराको गुण्डागर्दीका अघि केही बोल्न सक्दैनन् ।
अत: तपाईंसँग अनुरोध छ कि मैले यसमा आफ्नो नाम उल्लेख गरे भने ती सबै युवतीका साथसाथै मलाई पनि मेरो परिवारसँगै मारिदिनेछन् डेराका गुण्डाहरूले । यद्यपि म न त चुप बस्न सक्छु र न त मर्न नै चाहन्छु, म जनताका अघि सत्य ल्याउन चाहन्छु । यदि तपाईंले सञ्चार माध्यमबाट कुनै एजेन्सीलाई अनुसन्धान गराउने हो भने डेरामा रहेका ४० देखि ५० जना युवती, जो भय र डरमा छन्, पूरा विश्वास दिलाए सच्चाइ बताउन तयार छन् ।
हाम्रो डाक्टरी जाँच गराइयोस ताकि हाम्रा अभिभावक एवं तपाईंलाई थाहा हुनेछ कि हामी कुमारी हौं कि होइनौं ? यदि होइनौं भने कसबाट बर्बाद भएका हौं ?
(डेरा सच्चा सौदामा कार्यरत अज्ञात साध्बीले १३ मई सन् २००२ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई लेखेको पत्रको भावानुवाद)