एजेन्सी । च्याम्पियन्स लिगको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी सुरूवात गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा पीएसजीले युभेन्टसमाथि २–१ गोल अन्तरको जित हात पारेको हो। पीएसजीलाई जिताउन दुबै गोल केलियान एम्बाप्पेले गरे । वेस्टन म्याकिनेएले युभेन्टसका लागि सान्त्वना गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई सुरूआती अग्रता दिलाए । नेइमारको पासमा उनले गोल गरेका हुन् । यस्तै खेलको २२ औं मिनेटमा हाकिमीको पासमा उनले टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफ २-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा एक गोल व्यहोर्यो ।
युभेन्टसका कोस्टिकको पासमा वेस्टन म्याकिनेएले ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए । तर त्यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि पिएसजीले खेल २-१ ले जित्यो । यो जितसँगै च्याम्पियन लिगमा समूह एचमा पिएसजीले विजयी सुरूआत गरेको हो ।