काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ । नेप्से ०.२२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.९५ अंकले बढेर ३६७.१४ विन्दुमा पुगेको छ ।
कूल २२२ वटा कम्पनीको २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ९६ लाख ४६ हजार ९ सय २० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।
आज पनि नबिल बैंक लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ४० लाख ३५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । बिहीबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ६७ रूपैयाँ ९० पैसा पुगेको छ ।
यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ४.४५ प्रतिशतले घटेर ७ रूपैयाँ ९५ पैसामा झरेको छ ।





