मधुश्रावणी समापन गर्न एक महिना कुर्नुपर्ने
महोत्तरी । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले मनाउने मधुश्रावणी पर्व समापनका लागि यसपालि एक महिना कुर्नुपर्ने भएको छ । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको यो पर्वकै बीचमा अधिकमास (मलमास) सुरु हुने भएकाले समापन पनि एक महिना पछि धकेलिएको हो ।
साउन कृष्ण पञ्चमीका दिन पर्व प्रारम्भ गरेका मिथिलानीले साउन कृष्णपक्ष समाप्तीसँगै अधिकमास सुरु हुने भएपछि समापन साउन शुक्लपक्ष लागेपछि तृतीयाका दिन गर्ने बताएका छन् । यसपालि साउन शुक्लपक्ष सुरु हुने दिन मै अधिकमास प्रारम्भ हुँदैछ । साउन २ गते सुरु हुने अधिकमास साउन ३१ गते सकिएपछि साउन शुक्लपक्ष सुरु हुन्छ । त्यसलगत्तै पर्ने साउन शुक्ल तृतीयाका दिन पर्व समापन गरिने भङ्गाहा–४ की भवती मिश्रा बताउछिन् । “पर्व त साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको हो तर यसपालि कृष्णपक्ष सकिनुलगत्तै मलमास लाग्नेभयो”, पर्व मनाइरहेकी उनले भनिन्, “मलमासमा व्रत (पर्व) समापन वर्जित हुने हुँदा समापनलाई एक महिना कुर्नुपर्ने भएको हो ।”

प्राचीन मिथिला क्षेत्रमा पछिल्लो एक वर्षभित्र विवाह भएका मिथिलानीले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँछन् । सुमधुर प्रणयसम्बन्ध दीगो हुने कामनासाथ गरिने यो पर्व पतिले दिने खर्चमा माइतीमा बसेर मनाउने चलन छ । “पर्व मनाउन माइत जानुपर्ने चलन छ तर त्यस अवधिको खानपिनका आवश्यक सामग्री, नयाँ लुगा र अन्य सबै शृङ्गारका साधन पतिले पु¥याई दिनपर्ने मान्यता छ”, जलेश्वर–२ की साधना बर्मा भन्छिन् “सुमधुर प्रणय सम्बन्धको कामना गर्दै मनाइने यो पर्वमा शिव, पार्वती(गौरी)र ‘विषहरा’ (नागदेवता) को आराधना गरिन्छ ।”
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि अति महत्वको हुने गरेको छ । पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब आपसी घुलमिलले साझा भइसकेको छ । यस पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेको भङ्गहा नगरपालिका–४ रामनगरकी सीमा कर्ण बताउछिन् ।
पर्वको १३औँ दिन (यसपालि मलमासले बीचमै कुर्नुपर्ने भएको छ) समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र पूmल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्ने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुलाई ‘टेमी’ दिने गरिन्थ्यो । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुको देब्रे घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ । पछिल्लो समयमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनुपर्नेमा जोड दिँदै आएका छन् । पर्वमा बर्तालुलाई बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

