मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो
धनुषा । ‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो‘।’
दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।
यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । यहाँका मठमन्दिरमा दसैँका लागि बनाइएका पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।
मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य भएको मान्यता छ ।
मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले भने, “दसैँका बेला बोक्सी ९डाइन०ले मसान सिद्धि तथा तन्त्रमन्त्रका लागि अनुष्ठान गरी सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गर्ने गरिएको जनविश्वास छ । घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ ।”
झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्नेबारे जानकारी दिँदै उनले भने, “एक वा दुईटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी प्वालै प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा मट्टितेल हालेर आगो सल्काइन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ तर टाउकामा राखी नृत्य गर्नपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”
बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ ।
यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिलाले टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा बिना नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाका अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी ९डाइन० ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ । त्यसैले झिझिया टाउकामा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्ने बित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ ।
मैथिली संस्कृतिका जानकार महेन्द्रनगरका रमापति चौधरीले भने, “महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाका लागि लोक अनुष्ठानका रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दसैँभर प्रदर्शन गरिन्छ । गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् ।”
प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल दाल सहयोग दिने चलन छ । भिझियालाई तन्त्रमन्त्र र जादुटुनाको प्रतिकात्मक मानिए पनि अहिले अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको उन्को भनाइ थियो ।
यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धूनसँगै झिझिया नृत्य सुरु हुन्छ ।
अहिले यो नृत्य लोप हुँदै गएकाले मिथिला नाट्य कला परिषद्ले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा अगाडि बढाउँदै आएको छ ।
उक्त परिषद्ले केही वर्षयतादेखि पाँच सयभन्दा बढी झिझियाको नृत्य प्रदर्शन गरिसकेको छ । जनकपुरधामकै देवी चोकमा रहेका राजदेवी युवा क्लबले पनि दसैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ ।
दसैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबले पनि भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुत गर्ने गर्छ । रासस
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


