Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

रौतहटमा १४ वर्षीय बालकको हत्या, चार जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १५
रौतहटमा १४ वर्षीय बालकको हत्या, चार जना पक्राउ

रौतहट । रौतहट प्रहरीले १४ वर्षीय बालकको हत्यामा संलग्न चार जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।

वैशाख ६ गते वृन्दावन नगरपालिका ७ का कृष्णप्रसाद यादवको शव गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भनेर चिनिने अर्का नागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेका अनुसार, चारै अभियुक्तले टिकटिक बनाउन जाने बहानामा बालकलाई घरबाट बोलाई चाँदी खोलामा लगेर गोली हानी हत्या गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट बालकको छातीमा दुई राउन्ड गोली प्रहार गरिएको पुष्टि भएको छ ।

हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गा भगवती गाउँपालिका ५ स्थित एक घरमा टिनको बाकसभित्र लुकाइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, प्रयोग गरिएको भारतीय नम्बर प्लेट (BR-05W-0137) भएको मोटरसाइकल गौरस्थित एक वर्कशपमा टुक्रा पारिएको अवस्थामा फेला परेको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक घिमिरेले बताए । साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र गतिमा भइरहेको प्रहरीको भनाइ छ ।

Top Changing Nepal

युट्युब सट्स