काठमाडौं । सागर डिष्टिलरी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले जारी पूँजी रु. ७२ करोड ६० लाखको २० प्रतिशतबराबर रु. १४ करोड ५२ लाख अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्दैछ।
यसमा १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको हो।
सर्वसाधारणले भदौ २५ गतेदेखि आवेदन दिन सक्नेछन्। आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा मागअनुसार आवेदन नपरेमा असोज ८ गतेसम्म अवधि थप हुनेछ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसमा नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।