काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक संस्थालाई आवेदन दिन आग्रह गरेको हो ।
राष्ट्र बैंकले यसका लागि यही भदौ ३० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा छ करोड ५० लाख बराबरको रकम लगानी गरिनेछ ।
निवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले तोकिएको न्यूनतम कुल पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा सापटीको अनुपात आठ प्रतिशतभन्दा बढी नभएको र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेछ ।
यस्तै, लगानीका लागि आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसमेत उल्लेख गरी आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।