काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङका दुर्गम तथा विकट स्थानहरुमा फोरजी सेवा विस्तार गरेको छ।
कम्पनीले गाउँपालिका–१ पिसाङ, वडा नं.३ ब्रागा, वडा नं. ८ टंकी मनाङ र वडा नं. ९ खाङसारमा नयाँ बी-टी-एस स्थापना गरी आश्विन ४ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको हो। यसअघि यी क्षेत्रमा भी-स्याट प्रविधिबाट टु-जी सेवा मात्र उपलब्ध थियो। पर्यटकको चाप र स्थानीय मागलाई ध्यानमा राख्दै नयाँ प्रविधि विस्तार गरिएको नेपाल टेलिकमले जनाएको हो ।
यसका साथै, चामे गाउँपालिका–३ को कोटोगाउँमा नयाँ बी.टी.एस स्थापना गरी आश्विन १ गतेदेखि टुजी र फोरजी सेवा उपलब्ध भएको छ। सो सेवाले स्थानीय बासिन्दा र हाइड्रोपावर क्षेत्रमा कार्यरत सयौं ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै नासोङ गाउँपालिका–१ तालगाउँमा पनि थ्री-जीसँगै आश्विन ५ गतेदेखि फोर-जी सेवा थपिएको छ, जसले लमजुङ जिल्लाको उत्तरी च्याम्चे क्षेत्रसम्म कवरेज पुर्याउनेछ।
नेपाल टेलिकमका अनुसार तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि चाँडै फोर-जी सेवा विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। हाल नार्पाभूमी गाउँपालिका बाहेक मनाङका सबै पालिकामा टेलिकमको फोर-जी सेवा पुगेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैं प्राथमिकतामा राख्दै आएको जनाएको छ।





