काठमाडौं । राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको छ। बैंकको सञ्चित नोक्सानी ४ अर्ब २५ करोड पुगेको सबैभन्दा ठूलो चुनौती हो। प्राथमिक पूँजी कोष ०.३४ प्रतिशत र कुल पूँजी कोष ०.८२ प्रतिशत मात्र रहेकाले बैंक कर्जा लगानी योग्य स्थिति बाहिर पुगेको छ।
गत वर्ष ५ अर्ब १५ करोड नोक्सानी व्यवस्था गर्न निर्देशन दिँदा पनि बैंकले ४ अर्ब ८६ करोड मात्र व्यवस्था गरेको छ। गैर–बैंकिङ सम्पत्ति पनि ४० करोडले बढेर १ अर्ब ५२ करोड पुगेको छ।
राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था झनै कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकको नियमनमा आएपछि गरेको निरीक्षणले बैंकमा सुशासनको अभाव र राजनीतिक हस्तक्षेपका कारण गम्भीर समस्या देखिएको केन्द्रीय बैंकका अधिकारीले बताएका छन्।
उनका अनुसार सहकारी बैंकले बिनाधितो राजनीतिक आधारमा कर्जा वितरण गरेको र कमजोरी लुकाउन सञ्चालन समिति–व्यवस्थापन मिलेमतो गरेको पाइयो। राष्ट्र बैंकले आवश्यक निर्देशन दिए पनि बैंकले समयमै नोक्सानी व्यवस्थापन नगरेको जनाइएको छ।




