काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा (SLF) दर तथा नीतिगत दर दुवै घटाउने निर्णय गरेको छ। ब्याजदर करिडोरलाई व्यवस्थित गर्दै नीतिगत दरलाई करिडोरको मध्यभागमा राख्ने उद्देश्यसहित यो समायोजन गरिएको हो।
समिक्षाअनुसार करिडोरको माथिल्लो सीमा रहेका स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत गरिएको छ। त्यस्तै, नीतिगत दर ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशतमा कायम गरिएको छ।
यद्यपि, करिडोरको तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत राखिएको छ। राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (CRR) तथा वैधानिक तरलता अनुपात (SLR) सम्बन्धी व्यवस्था पनि जस्ताकै रहने जनाएको छ।
मौद्रिक नीतिको यो समायोजनले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन तथा बजार ब्याजदरमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।





