काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात् बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.८७ अंकले उक्लिँदै २६३३.७६ बिन्दुमा कायम भएको छ ।
यसअघि सोमबार भारी गिरावट आएको बजार बुधबार सुधार देखिँदा लगानीकर्तामा केही राहत मिलेको छ । बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज बजारमा कारोबार भएका ३४२ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री नीति अपनाएको र अर्थमन्त्रालयले पनि बजारसम्बन्धी विषयमा सकारात्मक कदम चालेको देखिएको छ । साथै राजनीतिक स्थिरता, नीतिगत सुधार र बैंक ब्याजदर न्यून बिन्दुमा रहेकाले शेयर बजारले नयाँ यात्रा तय गर्ने विश्वास लगानीकर्तामा बढेको छ ।
बुधबार कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । बैंकिङ, म्यानुफ्याक्चरिङलगायतका सूचक सर्वाधिक बढेका छन् । यस दिन १६३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ ।





