काठमाडौं । काठमाडौँ मेरियट होटेलले थाई खानाको मौलिक स्वाद राजधानीमै अनुभव गराउने उद्देश्यले ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक विशेष फुड फेस्टिभल सुरु गरेको छ।
होटेलको एडामामे रेस्टुरेन्टमा सञ्चालन भइरहेको फेस्टिभल जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि उपलब्ध रहनेछ। आयोजकका अनुसार फेस्टिभलमार्फत थाइल्याण्डको समृद्ध पाक संस्कृति, परम्परागत स्वाद तथा जीवन्त खानपान अनुभव नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
फेस्टिभलको उद्घाटन अवसरमा सञ्चारकर्मी तथा चर्चित कन्टेन्ट क्रिएटरहरू किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरी विशेष स्वाद अनुभव गराइएको थियो। फेस्टिभलको मुख्य आकर्षण थाइल्याण्डस्थित मेरियट नर्थ पटायाका कार्यकारी सेफ नत्तावुद रुएङ्सामुत (सेफ ओन) रहेका छन्। थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानी तथा आधुनिक एसियाली फ्युजन खानामा १९ वर्षभन्दा बढी अनुभव हासिल गरेका सेफ ओनले मौलिक थाई स्वादलाई काठमाडौंमा प्रस्तुत गरिरहेका छन्।

फेस्टिभलमा प्ला साल्मन, लब्स्टर, टम यम, पाड क्रा पाओलगायत थाइल्याण्डका लोकप्रिय परिकार समावेश गरिएको छ। ताजा जडीबुटी, मसला तथा परम्परागत पाक विधिबाट तयार गरिएका यी परिकारले थाई खानाको वास्तविक स्वाद झल्काउने आयोजकको दाबी छ। खानासँगै सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउडजस्ता विशेष पेय पदार्थ पनि उपलब्ध गराइएको छ, जसले भोजन अनुभवलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।
फेस्टिभलको हवाई साझेदार थाई एअरवेज रहेको छ। आयोजकका अनुसार यस सहकार्यले थाई अनुभवलाई थप प्रामाणिक र विश्वसनीय बनाउन सहयोग पुर्याएको छ । काठमाडौँ मेरियटले सीमित अवधिका लागि सञ्चालन हुने यस विशेष फेस्टिभलमा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न सबैलाई आमन्त्रण गरेको छ।



