काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी सवारी साधनहरुमा प्रयोग भइरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ।
सो छलफलको क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरु विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भइरहेको देखिएकोले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरुमा कालो सिसा हटाउन लागेको जानकारी दिए ।
त्यसैगरी उनले सवारी साधन प्रयोगकर्ताहरुले न्यूनतम रुपमा सवारी साधनको अगाडिको सिसामा कालो सिसा लगायत कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेकोले सवारी साधन पैठारीकर्ताहरुले आ–आफ्नो सवारी साधन खरिदकर्तालाई यसबारे जानकारी दिन आग्रह समेत गरे । साथै, उनले कालो सिसा प्रयोग गर्न चाहने सवारी साधन प्रयोगकर्ताले सरकारको अनिवार्य अनुमति लिनु पर्ने जानकारी दिदै सवारी साधन पैठारीकर्ताहरुले पनि आफ्नो उत्पादक कम्पनीबाट कालो सिसा भएका सवारी साधनहरु आयात गर्न नहुने बताए ।
सो छलफलमा नाडाका अध्यक्ष उप्रेतीले सवारी साधनहरुमा कालो स्टिकर (फिल्म) प्रयोग भइरहेकोले त्यसलाई हटाउन प्राविधिक रुपमा खासै समस्या नरहेकोले सर्वप्रथम कालो स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिए ।
त्यसैगरी सो छलफलमा उपस्थित नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा अटोमोबाइल उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनहरुको हकमा त्यस्ता सवारी साधनहरुको संख्या खासै धेरै नभएकोले त्यसको संख्या समेत यकिन गरी हटाउन सकिने बताए ।
यस सम्बन्धमा तत्काल छलफलका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो। सो छलफलमा नाडाको तर्फबाट उपाध्यक्ष अभिक ज्योति समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।


