काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै, कोभिड–१९ महामारीअघि पर्यटन गतिविधि उच्च रहेको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो। त्यसको तुलनामा यस वर्षको जुनमा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको बोर्डले जनाएको छ।
तथ्यांकअनुसार जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो। यसमध्ये चीनबाट ९ हजार ९९५, जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ र थाइल्यान्डबाट ५१४ पर्यटक नेपाल आएका छन्। युरोपबाट ६ हजार ९५४ पर्यटक नेपाल भ्रमणमा आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक आएका छन्।
अमेरिकाबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९५ प्रतिशत हो। यस अवधिमा क्यानडाबाट १ हजार ११ र ब्राजिलबाट १०४ पर्यटक नेपाल आएका छन्। ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यसमध्ये अष्ट्रेलियाबाट २ हजार ८९६ र न्यूजिल्यान्डबाट १९४ पर्यटक नेपाल आएका छन्। साथै, अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले पछिल्ला महिनामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको बताए।
पर्यटन बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।


