काठमाडौं । नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतिकका रूपमा स्थापित भएकाले टोयोटा ल्यान्ड क्रुजर नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको प्रमुख रोजाइ बन्दै गएको बताइएको छ।
कम्पनीका अनुसार, अर्कोतर्फ नेपालको भौगोलिक बनावट, सडकको अवस्था र ग्राहकको बदलिँदो आवश्यकताका कारण टोयोटाको प्रिमियम मोडलहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएको हो। उच्च मूल्य भए पनि सुरक्षा, आराम, अफरोड क्षमता र दीर्घकालीन भरपर्दोपनका कारण टोयोटा ल्यान्ड क्रुजर २५० र ३०० सिरिज नेपाली बजारमा उच्च आय भएका ग्राहकको रोजाइमा पर्ने गरेका हुन्।
व्यापक सर्भिस नेटवर्क र स्पेयर पाट्र्सको सहज उपलब्धताले पनि ग्राहकको विश्वास कायम राख्न मद्दत गरेको सेल्स म्यानेजर सन्तोष कार्कीको भनाइ छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले ६ दशकभन्दा लामो समयदेखि बिक्री तथा सेवा प्रदान गर्दै आएको जनाएको छ।
वैद्य अर्गनाइजेसनले नेपाली बजारमा ल्याण्ड क्रुजर २५० मोडल ल्याएर बिक्री सुरु गरेको धेरै भएको छैन। कम्पनीले २०२४ मा ल्याण्ड क्रुजर २५० नेपाली बजारमा सार्वजनिक गरेको हो। दुई भेरियन्टमा उपलब्ध ल्याण्ड क्रुजरको टप भेरियन्ट ३ करोड ७९ लाख रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको छ भने अर्को भेरियन्ट ल्याण्ड क्रुजर २५० अलराउण्डर ३ करोड २२ लाख रुपैयाँमा बिक्री भइरहेको बताइएको छ।
त्यस्तै, नेपाली बजारमा ल्याण्ड क्रुजर २५० भन्दा अलि महँगो ल्याण्ड क्रुजर ३०० सिरिजको मूल्य ५ करोड ३९ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। टोयोटा विश्वभर नै यसको गुणस्तर, टिकाउपन र विश्वसनीयताका लागि चिनिन्छ। ठुलो लगानी गर्ने मान्छेले आफ्नो लगानी कत्तिको सुरक्षित छ भनेर बुझ्दा टोयोटा नै भेट्टाउँछ, जसका कारण महँगो भएपनि धेरैको रोजाइमा यो पर्ने गरेको कम्पनीको विश्वास छ।

विशेषतः, ठूला उद्योगपति, व्यवसायी, राजनीतिक दलका नेताको रोजाईमा पर्ने ल्यान्ड क्रुजर टोयोटा ब्राण्डकै सबैभन्दा महँगा एसयूभीमध्ये पर्छन्। प्रिमियम र लक्जरी सेगमेन्टका गाडी खरिद गर्ने ग्राहकहरु अहिले पनि आफ्नो परम्परागत र भरपर्दो ब्रान्डमै अडिग छन्। टोयोटा ल्याण्ड क्रुजर विश्वभर नै उच्च ‘रिसेल भ्यालु’का लागि परिचित मोडल हो। यसको ‘रिसेल भ्यालु’ अन्य गाडीको तुलनामा धेरै राम्रो हुन्छ। वर्षौं पुराना मोडलहरू पनि नेपालमा अझै महँगो मूल्यमा बिक्री भइरहेका छन्।
विगतको तुलनामा अहिले प्रिमियम गाडीको संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ बताउँछन्। टोयोटाका ल्यान्ड क्रुजर २५० र ल्यान्ड क्रुजर ३०० सिरिज यो वर्ष राम्रो बिक्री भएको उनले बताए। नेपाली बजारमा ल्यान्ड क्रुजर सन् २०२४ मा सार्वजनिक भएको थियो।
श्रेष्ठकाअनुसार अफरोड क्षमता, भरपर्दोपन, स्पेयर पाट्र्सको उपलब्धता तथा उच्च पुनर्बिक्री मूल्यले बिक्री वृद्धिमा योगदान पुर्याएको छ।
‘कहिलेकाहीँ मूल्यभन्दा पनि आफ्नो सुरक्षा र आराम महत्त्वपूर्ण हुन्छ। टोयोटा गाडी चलाउँदा चार्ज कतिबेला सकिन्छ वा कहाँ चार्ज गर्ने भन्ने ‘एन्जाइटी’ हुँदैन,’ उनले भने, ‘पेट्रोल–डिजेल गाडी चलाउँदा ढुक्क भइन्छ, जहाँ गए पनि सुरक्षित फर्किएर आइन्छ भन्ने विश्वास हुन्छ यस्तो अवस्थामा मूल्यले त्यति धेरै अर्थ राख्दैन।’ गाडी महँगो हुँदा यसले सामाजिक प्रतिष्ठा पनि झल्काउने भएकाले मान्छेले आफ्नो स्टाटस मेन्टेन गर्नका लागि पनि यसमा लगानी गर्ने श्रेष्ठ बताउँछन्।
कम्पनीका अनुसार ल्यान्ड क्रुजर २५० र ३०० सिरिजले अफरोड तथा दुर्गम क्षेत्रमा समेत सहज यात्रा अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट सस्पेन्सन, इलेक्ट्रोनिक पावर स्टेरिङ तथा अत्याधुनिक सुरक्षा प्रणालीले यी गाडीलाई प्रिमियम एसयूभी वर्गमा स्थापित गरेको छ। ग्राहकले टोयोटा रोज्नुको प्रमुख कारण यसको ‘डुराबिलिटी’ र ‘रिलायबिलिटी’ हो। लामो दूरीको यात्रा, अफरोड ड्राइभिङ तथा देशका विभिन्न भूभागमा निर्बाध सञ्चालन गर्न सकिने भएकाले धेरै ग्राहकको पहिलो रोजाइ टोयोटा बन्ने गरेको कम्पनीको दाबी छ।
‘सुरक्षाको दृष्टिले पनि ल्यान्ड क्रुजर अब्बल मानिन्छ। यसमा ८–९ वटासम्म एयरब्याग, विभिन्न सेफ्टी फिचर तथा आरामदायी ड्राइभिङ अनुभव उपलब्ध छ। यही कारण ग्राहकले मूल्यभन्दा गुणस्तरलाई बढी प्राथमिकता दिने गरेका छन्,’ श्रेष्ठ भन्छन्, ‘टोयोटा ब्रान्डसँग जोडिएको सामाजिक प्रतिष्ठा पनि बिक्री बढ्नुको अर्को कारण हो। महँगो गाडीले सामाजिक स्तर झल्काउने भएकाले व्यवसायी, उद्यमी तथा उच्च आय भएका व्यक्तिहरूबीच ल्यान्ड क्रुजर लोकप्रिय छ।’

कोभिडमा घट्यो, अहिले पुनः बढ्दो
कम्पनीका अनुसार भूकम्पले बिक्रीमा खासै असर नपारे पनि कोभिड–१९ महामारीका बेला बिक्री प्रभावित भएको थियो। व्यवसायिक गतिविधि सुस्त हुँदा धेरै ग्राहकले नयाँ गाडी खरिद स्थगित गरेका थिए। तर आर्थिक गतिविधि विस्तारसँगै बिक्री पुनः बढ्न थालेको कम्पनीको भनाइ छ।
हाल सेयर बजारको अवस्थाले पनि केही हदसम्म बिक्रीमा प्रभाव पार्न सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताहरूले आफ्नो आर्थिक अवस्था हेरेर खरिद निर्णय गर्ने भएकाले बजारमा आउने उतारचढावले प्रिमियम गाडीको मागलाई प्रभावित गर्ने बताइएको छ।
ईभी भर्सेस ल्यान्ड क्रुजर
श्रेष्ठकाअनुसार ल्यान्ड क्रुजर खरिद गर्ने ग्राहक वर्ग र विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहक फरक छन्। दैनिक प्रयोजनका लागि ईभी लोकप्रिय बन्दै गए पनि लामो दूरी, अफरोड यात्रा तथा देशैभर ढुक्कसँग यात्रा गर्नका लागि आज पनि डिजेल गाडी र त्यसमा पनि टोयोटा नै ग्राहकको प्राथमिकतामा पर्ने गरेका छन्।
केही समय अघि एक्कासी युरो–६ मापदण्ड लागु भएपछि केही समय स्टक अभाव भएको थियो। केही ग्राहकले युरो–३ नै रुचाएकाले बिक्रीमा असर परेको कम्पनीले जनाएको छ।
ग्राहकले टोयोटा नै किन रोज्छन् ?
नेपाली समाजमा पैसा कमाएपछि टोयोटा किन्ने भन्ने एउटा स्थापित मान्यता नै बनिसकेको बताइएको छ। नेपालको चुनौतीपूर्ण भूगोलका लागि यो गाडी पूर्ण रूपमा उपयुक्त रहनुका साथै यसमा सुरक्षाका लागि ८–९ वटा सम्म एयरब्याग र अत्याधुनिक सेफ्टी फिचरहरू उपलब्ध छन्।
कम्पनीका अनुसार, टोयोटा महँगो र प्रिमियम सेग्मेन्टमा पर्ने गाडी भएकाले यसले मालिकको सामाजिक स्तर र प्रतिष्ठा झल्काउँछ। विशेषगरी ल्यान्ड क्रुजर र प्राडो जस्ता मोडलहरू पुराना भए पनि बजारमा लामो समय स्टक नबस्ने र राम्रो मूल्यमा बिक्री हुने भएकाले धेरै ग्राहकले यसलाई दीर्घकालीन लगानीको रूपमा समेत हेर्ने गरेको ब्राण्ड रणनीतिकार प्रशान्त खत्रीको भनाइ छ।
हाल ल्यान्ड क्रुजरका प्रमुख ग्राहक व्यवसायी, उद्यमी, उच्च आय भएका व्यक्ति तथा राजनीतिक व्यक्तित्वहरू छन्। टोयोटा ल्यान्ड क्रुजर प्रयोग गर्नेहरूमा युवा पुस्ताको संख्या बढी देखिने गरेको उनले बताए।
यसको लुक्स र रोड प्रेजेन्स एकदमै दमदार रहनुका साथै बजारमा अन्य ब्रान्डका ७ करोडसम्म पर्ने गाडीहरू आए पनि ती सामान्य कार जस्ता देखिन्छन्, तर ल्यान्ड क्रुजर गुड्दा मान्छेले छुट्टै नजरले हेर्ने गरेको उनले बताए।



