नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा दुवै पक्षले नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व तथा भारत र चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा दुई चेम्बरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी सहकार्यलाई संस्थागत बनाउने सहमति गरेका छन् ।
सहकार्यअन्तर्गत स्पेन चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्च महिनामा करिब आठदेखि नौवटा स्पेनी कम्पनीहरूको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । उक्त भ्रमणका क्रममा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ लगानीका अवसरहरूको खोजी गर्न व्यवसायिक फोरम आयोजना गर्ने योजना रहेको बताइएको छ ।
छलफलका क्रममा व्यापार तथा लगानी प्रवद्र्धनका लागि सरकारी तहको सहकार्यलाई पनि प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू) र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले प्राप्त गर्न सक्ने सम्भावित अवसरहरूको उपयोग गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।
दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधन क्षेत्रलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति जनाएका छन् ।
बैठकमा नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी तथा सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादनहरूको निर्यात सम्भावना रहेको उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य उपकरण, पानी प्रशोधन तथा पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरिएको जनाइएको छ ।
दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउँदै द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, साथै डिजिटल व्यापार र ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा समेत जोड दिएका छन् ।
दक्षिण एसियामा अनुभव हासिल गरेका स्पेनी कम्पनीहरू नेपालका पूर्वाधार विकास, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने विषयमा पनि छलफल भएको थियो ।
भेटवार्ताको अन्त्यमा दुवै चेम्बरका प्रतिनिधिहरूले संस्थागत सहकार्य, नियमित व्यवसायिक भ्रमण तथा निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेनबीचको व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
