मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ ।
ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ । वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।
जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटा, भिडियो नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को सङ्केत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ।
यसैगरी, आफ्नो घर वरिपरि रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घर वरपर सफा राख्न, राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्नु आवश्यक छ ।
चट्याङ पर्न लागेमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि, नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न, मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।
अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद्बारेको आधिकारिक सूचना नियमित सुन्न एवम् हेर्न सचेत गराइएको छ । विपद्सम्बन्धी सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ । विपद्का कारण ठूलो जनधनको क्षति हुन नदिन र पूर्वसावधानी अपनाउनका लागि प्राधिकरणले अनुरोध गर्दै आएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर कुल ४७ वटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार विपद्का कारण रु १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ । विपद्मा परेर तीन जनाको ज्यान जाँदा आठ जना घाइते भएका छन् ।
यही साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंश, आगलागीका आठरआठ वटा घटना घटेका छन् । यस्तै, बाढीका दुई, पहिरो १४, अविरल वर्षा आठ, जनावर आक्रमण तीन र हावाहुरीको एक घटना घटेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
