काठमाडौं । आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो ब्लक प्रिन्टिङ तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस अवसरमा २१ जुलाईमा गोदावरीस्थित अटिजमकेयर नेपाल सोसाइटीमा प्रशिक्षार्थीहरूले तयार गरेका सामग्रीहरूको प्रदर्शनी तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरिएको थियो।
आठ सातासम्म सञ्चालन भएको टेक्सटाइल ब्लक प्रिन्टिङ तालिम पूरा गरेका १२ जना प्रशिक्षार्थीले प्रमाणपत्र प्राप्त गरेका छन्। उनीहरूले आफ्नै हातले तयार गरेका सिर्जनाहरू प्रदर्शनीमा राखिएका थिए, जसले उपयुक्त सीपमूलक अवसर पाएमा अटिजम भएका व्यक्तिहरूले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छन् भन्ने स्पष्ट सन्देश दिएको छ।
कार्यक्रममा द वुमेन्स काउन्सिल, युकेकी अध्यक्ष डा. रजनी रिजाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी आकार फाउन्डेसनका संस्थापक शेखर क्षेत्री, अध्यक्ष अर्चना शाह, अटिजमकेयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बज्राचार्य, दबु टेक्सटाइल स्टुडियोका प्रतिनिधि, प्रशिक्षार्थीका अभिभावक तथा शुभेच्छुकहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
यो कार्यक्रम द वुमेन्स काउन्सिल, युकेको प्रायोजनमा मुम्बईस्थित एडिएपिटी मा सञ्चालन भएको कम्युनिटी इनिसियटिभ्स इन इन्क्लुजन कोर्सका क्रममा अर्चना शाहले तयार गर्नुभएको कार्ययोजनाबाट सुरु भएको हो। अहिले यो पहल आकार फाउन्डेसन, अटिजमकेयर नेपाल सोसाइटी र दबु टेक्सटाइल स्टुडियोको संयुक्त सहकार्यमा अघि बढिरहेको बताइएको छ।
प्रमुख अतिथि डा. रजनी रिजालले अटिजम भएका युवाहरू सहभागी भएको कामलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले भने, “आकार फाउन्डेसनको निमन्त्रणामा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु। अतिरिक्त सहयोग आवश्यक पर्ने युवाहरूले हासिल गरेका उपलब्धिहरू हामी सबैका लागि प्रेरणादायी छन्। द वुमेन्स काउन्सिलको अध्यक्षका रूपमा यस्तो सराहनीय प्रयास प्रत्यक्ष रूपमा देख्न र यस यात्राको हिस्सा बन्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।”

आकार फाउन्डेसनका संस्थापक शेखर क्षेत्रीले प्रशिक्षार्थीहरूको उपलब्धिप्रति गर्व व्यक्त गर्दै भने, “उहाँहरूको उपलब्धिले हामीलाई अत्यन्त गर्व महसुस गराएको छ। यस्ता कार्यक्रमहरूले अटिजम तथा बौद्धिक अपाङ्गता भएका प्रत्येक व्यक्तिको क्षमता विकास गर्दै आत्मनिर्भर जीवन निर्माणमा हाम्रो फाउन्डेसनलाई अझ सक्रिय भएर काम गर्न प्रेरणा दिन्छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै आकार फाउन्डेसनकी अध्यक्ष अर्चना शाहले युवावस्था लागेपछि अटिजम भएका व्यक्तिहरूलाई आवश्यक सहयोग र रोजगारीका अवसर निकै सीमित हुने अवस्था रहेको बताइन्। उनले भनिन्, “अपाङ्गता भएका व्यक्तिहरूलाई सिर्जनशिल र क्रियाशील बन्दै आम्दानी गर्ने अवसर आवश्यक छ। आजको यो दीक्षान्त कार्यक्रम केवल एउटा सुरुवात हो। अर्थपूर्ण जीविकोपार्जनतर्फको हाम्रो यात्रा अझ लामो छ।”
तालिमका क्रममा प्रशिक्षार्थीहरूले दबु टेक्सटाइल स्टुडियोको प्राविधिक मार्गदर्शनमा आफ्नो क्षमता र गतिअनुसार सहज तथा सहयोगी वातावरणमा ब्लक प्रिन्टिङ सीप सिकेका थिए।
यो कार्यक्रम आकार फाउन्डेसनको इनक्लुसिभ वर्कप्लेस स्थापना गर्ने दीर्घकालीन लक्ष्यको हिस्सा हो। यस केन्द्रमार्फत अटिजम तथा बौद्धिक अपाङ्गता भएका युवाहरूले क्याफे, बेकरी, टेक्सटाइल स्टुडियो, लाइफस्टाइल स्टोर, कला प्रदर्शनी कक्ष तथा उत्पादन कार्यशालाजस्ता विभिन्न उद्यममार्फत रोजगारी र आम्दानीको अवसर प्राप्त गर्ने लक्ष्य राखिएको जनाइएको छ।
तालिम कार्यक्रम सफल बनाउन आर्थिक सहयोगका लागि आकार फाउन्डेसन ग्लोबल आईएमई बैंक लिमिटेडप्रति आभार व्यक्त गर्दछ। साथै, सहयोगका लागि अटिजमकेयर नेपाल सोसाइटी, दबु टेक्सटाइल स्टुडियो र द वुमेन्स काउन्सिल, युकेलाई पनि धन्यवाद व्यक्त गर्दछ।
आकार फाउन्डेसन नेपालमा आधारित एक गैरनाफामूलक संस्था हो। यसले विशेषगरी अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि काम गर्दै आएको बताइएको छ। व्यावसायिक सीप विकास, सिर्जनात्मक उद्यम, बजार पहुँच तथा समावेशी रोजगारीका पहलमार्फत फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूलाई सिर्जनशिल बनाउन, आम्दानीको वातावरण सिर्जना गर्न र आत्मनिर्भर जीवनयापन गर्ने अवसर निर्माण गर्न प्रतिबद्ध रहेको जनाइएको छ।


