Jankari Kendra
१७ श्रावण २०८३, आईतवार
Worldlink

विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १७
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल

मियामी । अर्जेन्टिनासँग विश्वकपको फाइनलमा हार बेहोरेको १३ दिनपछि लियोनेल मेस्सीले शनिबार इन्टर मियामीका लागि मैदानमा उत्रिएका छन् । मियामीको ‘नु स्टेडियम’ मा कोलम्बस क्रुसँग २–२ को बराबरीमा टुंगिएको खेलमा मेस्सी सुरुमा वैकल्पिक खेलाडीका रूपमा बेन्चमा थिए र ५३औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

आफ्नो छैटौँ विश्वकप खेलेर फर्किएका यी खेलाडी मैदान प्रवेश गर्दा घरेलु दर्शकले उनलाई भव्य स्वागत गरेका थिए। ड्यानियल पिन्टरको स्थानमा मैदान छिरेका मेस्सीका लागि यो पुनरागमन लगभग ‘सपनाजस्तै’ बन्न लागेको थियो । मैदान प्रवेश गरेको तीन मिनेटमै उनले पेनाल्टी बक्सको दायाँतर्फ लुइस सुआरेजको पास नियन्त्रणमा लिए र बायाँ खुट्टाले प्रहार गरे।

दक्षिण फ्लोरिडाका दर्शकहरू बलले जाली चुम्ने प्रतीक्षामा थिए तर बल नजिकको पोस्ट बाहिरबाट उडेर जाँदा सबैजना आश्चर्यचकित भए। पहिलो हाफमा उरुग्वेका अनुभवी खेलाडी सुआरेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । यदि मेस्सीले त्यो गोल गरेको भए मियामी ३–१ ले अघि हुने थियो।

कोलम्बसका गोलकिपर प्याट्रिक शुल्टेको टाउको माथिबाट जाली चुमेको सुआरेजको लामो दूरीको उत्कृष्ट प्रहारले मियामीलाई अग्रता दिलाएको थियो भने त्यसपछि उनले नोआ एलेनलाई गोलका लागि ‘असिस्ट’ गर्दै हाफ टाइमको ठीक अघि मियामीलाई पुनः अग्रता दिलाएका थिए।

मियामीको घरेलु मैदानमा भएको आफ्नो डेब्यु खेलमा ब्राजिलका मिडफिल्डर कासेमिरोबाट भएको ‘आत्मघाती गोल’को मद्दतले कोलम्बसले पहिलो हाफमै खेल बराबरी गरेको थियो। त्यसपछि खेलको ८४औँ मिनेटमा ब्राइस मेन्डेजको फ्रि किक गोलमा परिणत भएपछि पाहुना टोलीले पुनः त्यस्तै नतिजा दोहोर्‍यायो र मियामीलाई पूर्ण तीन अंक जोड्नबाट वञ्चित गरायो।

इन्टर मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले खेलको अन्तिम क्षणमा जितको अवसर हातबाट फुत्किएको स्वीकार गरे तर उनले आफ्नो टोलीको विशेष गरी मैदानमा फर्किएका मेस्सी र अर्जेन्टिनाका उनका सहकर्मी रोड्रिगो डे पाउलको प्रशंसा भने गर्न छुटाएनन ।

‘म टोलीले गरेको प्रयासका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘म लियो र रोड्रि यहाँ उपस्थित भएकोमा सार्वजनिक रूपमा धन्यवाद दिन चाहन्छु, यो हाम्रा लागि साँच्चै महत्त्वपूर्ण रह्यो। साथै, म कडा प्रतिस्पर्धा हुने र निकै मिहिनेतको माग गर्ने यो लिगमा सम्पूर्ण खेलाडीहरूले खेलभरि गरिरहेको निरन्तर प्रयासको पनि कदर गर्न चाहन्छु।’

मेस्सीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल र चार असिस्ट गर्नुका साथै यस क्रममा धेरै कीर्तिमानहरू पनि तोडेका थिए। उनको कप्तानीमा अर्जेन्टिना लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो। १९ जुलाईमा न्यु जर्सीको मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा उनी पूरै १२० मिनेट मैदानमा उत्रिएका थिए, तर अतिरिक्त समय पछि उनको टोली स्पेनसँग १–० ले पराजित हुन पुगेको थियो ।

Top Changing Nepal

युट्युब सट्स