Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, २८
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । मोन्ट्रा इलेक्ट्रिकले नेपालको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा आफ्नो नयाँ पुस्ताको इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ। आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिंग प्रा. लि. मार्फत नेपाल प्रवेश गरेको कम्पनीले काठमाडौंमा आयोजित कार्यक्रममा सुपर अटोको पहिलो ब्याच सार्वजनिक गरेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सवारीसाधन सार्वजनिक गरेका थिए । नेपाली सडक, भूगोल र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर इन्जिनियरिङ तथा परीक्षण गरिएको सुपर अटो विशेषगरी नेपालको पहाडी तथा कठिन भू–भागका लागि उपयुक्त हुने कम्पनीको दाबी छ। ३२ प्रतिशत ग्रेडेबिलिटी, हिल–होल्ड असिस्ट, विभिन्न ड्राइभ मोड, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा आरामदायी डिजाइनसहितको यो थ्री–ह्विलरले चालक र यात्रु दुवैलाई सहज यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ।

९ किलोवाट ब्याट्री प्याक र पिएमएसएम मोटरबाट सञ्चालित सुपर अटोले ६० एनएमटर्क, एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज तथा ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्ने कम्पनीले जनाएको छ। करिब ४/५ घण्टामा पूर्ण चार्ज गर्न सकिने यस सवारीले कम सञ्चालन तथा मर्मतसम्भार खर्चका कारण चालक र फ्लीट सञ्चालकको कुल स्वामित्व लागत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको बताइएको छ। नेपालमा सुपर अटोको मूल्य रु. ८ लाख ६४ हजार ९०० तोकिएको छ। हिप्को ट्रेडिंगका निर्देशक हिमांशु गोल्छाले इलेक्ट्रिक मोबिलिटीको विस्तारले आयातित इन्धनमाथिको निर्भरता र प्रदूषण घटाउँदै नेपालमा उत्पादित विद्युत्को उपयोग बढाउन सहयोग गर्ने बताए। मोन्ट्रा इलेक्ट्रिकका अध्यक्ष अरुण मुरुगप्पन र प्रबन्ध निर्देशक जलज गुप्ताले नेपाल प्रवेशलाई कम्पनीको विश्वव्यापी विस्तार तथा दिगो मोबिलिटीको यात्राको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेका छन्।

मोन्ट्रा इलेक्ट्रिक, टिआई क्लिन मोबिलिटी प्रा. लि. मार्फत मुरुगप्पा ग्रुपअन्तर्गत सञ्चालन हुने क्लिन मोबिलिटी ब्रान्ड हो। कम्पनीले ई–थ्री–ह्विलर, ई–स्मल कमर्सियल भेहिकल, ई–ट्र्याक्टर तथा ई–मिडियम एन्ड हेभी कमर्सियल भेहिकल क्षेत्रमा उत्पादन विकास गर्दै आएको बताएको छ। नेपालमा सुपर अटोको बिक्रीसँगै देशभर डिलर तथा सर्भिस नेटवर्क विस्तार गरी बिक्री, मर्मतसम्भार, स्पेयर पार्ट्स र ग्राहक सहायता उपलब्ध गराउने योजना रहेको हिप्को ट्रेडिंगले जनाएको छ। कम्पनीका अनुसार नेपाल प्रवेश मोन्ट्रा इलेक्ट्रिकको विश्वव्यापी विस्तारको सुरुवात हो र आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी इकोसिस्टमलाई थप मजबुत बनाउने लक्ष्य राखिएको बताइएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स