Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ७
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

बीरगञ्ज। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ। प्रोटोनले आफ्नो बजार विस्तारलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वी नेपालको बिर्तामोडमा दशैंअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको बताएको छ। बिर्तामोडको सोरुम सञ्चालनमा आएपछि नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्नेछ।

हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘एलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको बताइएको छ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा उपलब्ध छन्। त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।

सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिककरण समारोहमा बीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले बीरगञ्ज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र दिगो यातायातप्रतिको विश्वासलाई प्रतिबिम्बित गरेको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले भने, “प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जका ग्राहकहरूमाझ प्रोटोन इ.मास ५ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइमा पर्नेमा हामी विश्वस्त छौँ।

भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै आज बीरगञ्जसम्म आइपुगेको छ। यससँगै नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ लाई ग्राहकहरूमाझ पुर्‍याउँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा स्थापित गर्ने हाम्रो अभियानलाई थप विस्तार गरेका छौँ।

इ.मास ५ प्रति नेपाली ग्राहकहरूले देखाउनुभएको उत्साह, प्राप्त भएका बुकिङ तथा प्रोटोन ब्रान्डप्रति ग्राहकहरूले व्यक्त गर्नुभएको विश्वासप्रति हामी अत्यन्त आभारी छौँ। आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै उत्कृष्ट उत्पादन, सेवा र अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।”

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। बीरगञ्जमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु.३२.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३६.९९ लाख निर्धारण गरेको जनाएको छ।

अब इच्छुक ग्राहकहरूले बीरगञ्ज बाइपास रोडस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इ.मास ५ तथा इ.मास ७ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। ग्राहकहरूले सोरुममै पुगेर गाडीका आधुनिक प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।

नेपालभर प्रोटोनको उपस्थितिलाई थप विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने जगदम्बा मोटर्सको अभियानअन्तर्गत बीरगञ्जमा नयाँ सोरुमको शुभारम्भलाई अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको जनाइएको छ। आगामी दिनमा बिर्तामोडमा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ।

Top Changing Nepal

युट्युब सट्स