नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
काठमाडौँ । टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा भिजिट नेपाल कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत भिजिट नेपाल अभियानको औपचारिक सुरुवात गरिएको जनाइएको छ। टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य भएको बताइएको छ।
नेपाल पर्यटन बोर्डसँगको यो सहकार्यले टिकटकको प्रतिबद्धता अनुरुप पर्यटन प्रवर्द्धन, स्थानीय कलाकर्मीको सशक्तीकरण तथा स्थानीय समुदाय र व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्न डिजिटल प्लेटफर्मको उपयोग गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको जनाइएको छ।
यस अभियानअन्तर्गत टिकटकले युरोप, मिडल ईस्ट, साउथ ईस्ट एसिया र साउथ एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ। उनीहरू ३० अक्टोबरदेखि ७ नोभेम्बरसम्म नेपालमा रहेर विभिन्न स्थानको भ्रमण गर्दै आफ्ना अनुभव संसारभरका दर्शकमाझ साझा गरिरहेका छन् भने यसबाट अन्तर्राष्ट्रिय पर्यटकले नेपालका चर्चित पर्यटकीय गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर स्थानहरूबारे पनि जानकारी पाउने बताइएको छ।
यसैगरी, पर्यटनसम्बन्धी कन्टेन्टको पहुँच र दर्शकको सहभागिता बढाउन टिकटकले छुट्टै भिजिट नेपाल ह्यासट्याग पेज पनि सुरु गरेको छ। टिकटकको कोल्याब फिचरमार्फत नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी र यहाँका क्रिएटरसँग सहकार्य गरी अझ धेरै दर्शकमाझ पुग्ने र स्थानीय दृष्टिकोणबाट नेपालको विशेषता प्रस्तुत गर्ने काम गरेको जनाइएको छ। यस अभियानअन्तर्गत लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिमसमेत सञ्चालन गरिएको छ भने यसबाट विश्वभरका मानिसले भर्चुअल रूपमा नेपालको अनुभव लिन र भविष्यमा भ्रमण गर्न चाहेका स्थानबारे जानकारी पाउन सक्नेछन्। भिजिट नेपाल अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने बताइएको छ।
कार्यक्रमको प्रमुख अतिथीका रूपमा माननीय सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना सहभागी भएका थिए। कार्यक्रमअघि आफ्नो धारणा राख्दै उनले भने, “डिजिटल प्लेटफर्महरूले पर्यटकीय गन्तव्यहरूको जानकारी लिने तरिकामा परिवर्तन ल्याएका छन्। आज विश्वको एउटा कुनामा व्यक्त गरिएको कथाले अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ। हामी टिकटकलाई नेपालको पर्यटन प्रवर्द्धन गर्ने एउटा प्लेटफर्मका रूपमा मात्र नभई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा पनि स्वागत गर्न चाहन्छौँ। एउटा कथाले यात्राका लागि प्रेरित गर्न सक्छ, एउटा यात्राले अवसर सिर्जना गर्न सक्छ र एउटा अवसरले समग्र समुदायको रूपान्तरण गर्न सक्छ।”
टिकटकका मिडल ईस्ट, युरेसिया तथा अफ्रिका (एमइए) क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले भने, “टिकटकले विभिन्न स्थान, संस्कृति र अनुभवका बारेमा सूचना र जानकारी लिने तरिकामा परिवर्तन ल्याएको छ। यसले मानिसहरूलाई विशेष स्थानको भ्रमण गर्न प्रेरित गर्नुका साथै वास्तविक अवसरहरू पनि सिर्जना गरिरहेको छ। नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको भिजिट नेपाल सहकार्य मार्फत् नेपालको ठूलो पर्यटकीय सम्भावनालाई विश्वभरका दर्शकमाझ पुर्याउने हाम्रो उद्देश्य छ। यो सहकार्यले मानिसहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने, नेपाली क्रिएटरलाई सशक्त बनाउने, साना व्यवसायलाई सहयोग गर्ने र डिजिटल अर्थतन्त्रबाट आम सर्वसाधारणले लाभ लिन सक्ने अवसर सिर्जना गर्ने हाम्रो बृहत्तर प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्छ।”
भिजिट नेपाल अभियान नेपाल पर्यटन बोर्डसँग टिकटकले यसअघि गरेको सहकार्यकै निरन्तरता हो भने यसअघि डिजिटल स्टोरीटेलिङ सीप विकाससम्बन्धी कार्यशालामार्फत ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी र क्रिएटरलाई तालिम प्रदान गरिएको जनाइएको छ। यो पहल नेपाल सरकार, निजी क्षेत्र, सञ्चारमाध्यमका साझेदार र क्रिएटर समुदायको सहभागितामा नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग गर्ने प्रयासको सुरुवातसमेत रहेको बताइएको छ।
सम्बन्धित समाचार
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
