Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

एमालेले चाल्यो फेरी अर्को कदम,कांग्रेस पर्यो पासोमा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, माघ, २७
एमालेले चाल्यो फेरी अर्को कदम,कांग्रेस पर्यो पासोमा

आफूले एकल बहुमत जितेका प्रदेश १ र ३ मा नेकपा एमालेले चुनाव मार्फत संसदीय दलको नेता चयन गरेको छ । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिको पनि नेता छान्नुपर्ने हुनाले यस्तो चुनावमा मतदाताको विवेक बोल्न दिनु लोकतन्त्रको उन्नत अभ्यास हो ।

प्रदेश ३ मा एमालेले गत चुनावमा प्रदेशसभाका ५८ सिट प्राप्त गरेको थियो भने प्रदेश १ मा ५१ सिट । प्रदेश सरकार गठनका लागि यो संख्या दुवै प्रदेशमा स्पष्ट बहुमत हो ।

जनताबाट निर्वाचित प्रतिनिधि भएका हुनाले दुवै प्रदेशका हरेक सांसद संसदीय दलको नेता हुन योग्य छन् । प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्छु भन्ने विश्वास राख्ने हरेक सांसद उम्मेदवार बन्न सक्थे । यस्तो अवस्थामा पार्टीको केन्द्रीय नेतृत्वसँग दुईवटा विकल्प थियो–पहिलो, केन्द्रबाटै ह्वीप जारी गरेर कुनै एउटा ब्यक्तिको पक्षमा सर्वसम्मतिको माहौल तयार गर्ने । दोस्रो, आकांक्षीहरुलाई आ–आफ्नो क्षमता पुष्टि गर्ने अवसर प्रदेशकै संसदीय दलमा दिने र सांसदहरुबाटै त्यसको निरुपण गरिदिने ।

सर्वसम्मतिको विकल्प सबैभन्दा राम्रो हुन्थ्यो । विगतमा पार्टी अधिवेशन हुँदा प्यानल बनाएर चुनाव लडेकाले पार्टीभित्र गुट झागिंदै गएको अनुभव गरेका एमाले कार्यकर्ताहरु सर्वसम्मतिको पक्षमा थिए । स्वाभाविक हो, सर्वसम्मति भएको अवस्थामा गुट निस्तेज हुन्थ्यो, एउटै नेताको पछाडि सवै उभिएको सन्देश जान्थ्यो । सर्वसम्मतिले पार्टीको आन्तरिक एकतामा बल पुग्छ वा पुग्दैन भन्ने विषयमा भने अनेक तर्क गर्न सकिएला ।

तर, प्रश्न यो होइन । प्रश्न के हो भने संसदीय दलमा निर्वाचित धेरै सांसदले इच्छा देखाएपछि पार्टीको केन्द्रीय नेतृत्वले कसैलाई बसाउन वा उठाउन मिल्दैन । म प्रतिस्पर्धामा जान्छु, चुनाव लड्छु र संसदीय दलभित्र बहुमत सिद्ध गर्छु भन्ने आकांक्षा बोकेको कुनै नेतालाई पार्टीले त्यो अवसर दिने कि नदिने भन्ने प्रश्न मुख्य हो । विगतमा दलकै आन्तरिक नेतृत्व चयनमा लोकतान्त्रिक प्रतिस्पर्धाको असल उदाहरण प्रस्तुत गर्दै आएको एमालेले संसदीय दलको चुनावबाट पन्छिन सम्भव थिएन । एमालेको आन्तरिक लोकतन्त्रलाई विपक्षीले पनि प्रशंसा गर्दै आएका हुन् ।

यस पटकको प्रादेशिक संसदीय दलको नेतृत्व चयनमा सुखद पक्ष के रह्यो भने शीर्ष एमाले नेतृत्वले कुनै एक पक्षको समर्थन वा विरोध गरेन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ लाई विशेष जोड गरेर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पक्षमा सर्वसम्मति गरौं भन्ने प्रयास गरेका थिए । तर, प्रदेशकै अधिकांश सांसदले आफ्नो आकांक्षा छोडेनन् । चुनावमा तपाईं हार्ने अवस्था हो भने नलड्नुस् भन्ने सुझाव ओलीले आफूलाई दिएको उपाध्यक्ष शाक्यले वताएकी छिन् । यद्यपि उनी चुनाव लड्न गइन् र पराजय ब्यहोरिन् ।

प्रदेश १ मा सचिव भीम आचार्य नै संसदीय दलको नेतामा अघि सरेपछि पार्टी शीर्ष नेताहरु हस्तक्षेप गर्न अघि सरेनन् । अन्ततः चुनाव भयो, आचार्यले हारे र शेरधन राई दलको नेता निर्वाचित भए । चुनाव लगत्तै आचार्यले शेरधनको जितलाई आफ्नो समेत जित वताएर पार्टीको आन्तरिक लोकतन्त्रमा देखिएको असल संस्कार प्रदर्शन गरे । यहि कुरा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि भनिदिएको भए हुन्थ्यो । तर, उनले भावी मुख्यमन्त्री डोरमणि पौडेललाई कसरी काम गर्नुहुँदो रैछ हेरौंला भन्ने चेतावनीयुक्त अभिब्यक्ति दिइन् । प्रदेश ३ मा अष्टलक्ष्मी सांसद मात्र रहने सम्भावना ज्यादा छ । उनको चेतावनीले कुनै तात्विक अर्थ राख्दैन । पार्टीको पुरानो नेता र महिला समेत भएकाले उनीप्रति सहानुूति राख्ने ठूलो जमात थियो, पार्टी भित्र र बाहिर दुवैतिर । शाक्यको यस्तो प्रतिक्रियाले उनीप्रतिको सहानुभूति रोषमा परिणत भएको छ र धेरैले उनी हार्नयोग्य रहिछन् भन्ने प्रतिक्रिया दिन थालेका छन् ।

एमालेको केन्द्रीय नेतृत्वमा वर्तमान आन्तरिक डाइनामिक्स फेरिएको छ । महाधिवेशन ताकाकै प्यानल सम्झेर धेरैले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समानान्तर अभ्यासको सम्बन्ध भएको कल्पना गर्छन् । त्यसै आधारमा सांसद हरुलाई पनि यो वा त्यो पक्ष भनेर विभाजित गर्छन् । एमालेको आन्तरिक राजनीतिमा आएको फेरबदल नबुझिएर गरिएको मनचिन्ते गुट विभाजन हो यो ।

अहिले ओली र नेपालबीच सम्बन्ध सुमधूर मात्र छैन, दुवै नेताले गुटबन्दीलाई प्रश्रय नदिनेगरी काम गरिरहेका छन् । संसदीय दलको निर्वाचनमा दुवैले कुनै नेता विशेषलाई साथ दिएनन् । पार्टी एकतामा दुवै नेताको समान धारणा छ । जिम्मेवारी बाँडफाँडमा दुवैले सुझबुझ देखाएका छन् । माओवादीसँग एकता प्रक्रिया चलिरहंदा सबैभन्दा धेरै छलफल अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएका छन् । यस्तै छलफलहरु अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएका छन् ।

यी छलफलको परिणाम शीर्ष नेताका भनाईमा देखिएको एकरुपताबाट झन् प्रष्टिन्छ । एमाले अध्यक्ष ओली पार्टी एकताप्रति असाधारण आत्मविश्वासले ओतप्रोत छन् । माओवादी अध्यक्ष प्रचण्डले आजै चितवन पुगेर प्रष्ट भनेका छन्– दुई अध्यक्ष बीच पदीय विभाजनमा कुरा नमिलेर पार्टी एकतामा ढिलाई भएको समाचार सत्य होइन । प्रचण्डको भनाई थियो– दुवै नेताले अव पाउन कुनै पद बाँकी छैन, त्यसैले पदको विषय हुँदै होइन, एकता भएरै छाड्छ ।
अध्यक्ष ओलीको आत्मविश्वास र प्रचण्डको भनाईलाई एमाले नेता नेपालले आजै कैलालीमा ब्यक्त गरेको विचारले थप पुष्टि गर्छ । उनले भनेका छन्– पार्टी एकतामा सन्देह छैन, एकीकृत पार्टीको नाम नेकपा राखिनेछ ।

एमाले मात्र होइन अव बन्ने नयाँ कम्युनिस्ट पार्टीको आन्तरिक लोकतन्त्र बलियो पार्न पनि अहिले एमालेले अपनाएको उन्नत अभ्यास उपयोगी हुन्छ । प्रक्रियामा सामेल भएपछि हार वा जित हुन्छ । जित्नेले उदारता प्रस्तुत गर्नु र हार्नेले सौहार्दता प्रस्तुत गर्नु लोकतन्त्रको उज्यालो पक्ष हो ।

Top Changing Nepal

युट्युब सट्स