Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसके के हुन्छ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, ३१
ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसके के हुन्छ

काठमाडौं, ३१ वैशाख । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले उनको नियुक्ति भएको हो । ओलीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

ओलीले २७ वैशाखमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनको साँझ संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार निर्माणको आव्हान गरेकी थिइन् । ३० वैशाखको साँझ ९ बजेसम्मको समय दिइएकोमा कसैले पनि दाबी पुर्याउन सकेन । त्यसपछि उनी धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न पुगेकी हुन् ।

ओलीले फेरि विश्वासको मत लिन नसकेको अवस्थामा फेरि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम उपधारा २ बमोजिम प्रतिनिधि सभाको विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । कि त ओलीले बहुमत पुर्याउने प्रयास गर्नेछन् कि उनीविरोधी गठबन्धनले । गठबन्धनले फेरि बहुमतको प्रयास गर्ने सम्भावना छ । त्यसका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनको सम्भावना रहन्छ । बहुमत पुर्याउने आधार प्रस्तुत गरेर प्रधानमन्त्री बनेको प्रतिनिधि सभा सदस्यले ३० दिनभित्र विश्वासको मत लिनसक्नुपर्नेछ ।

विश्वासको मत लिन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ । यसरी मुलुक फेरि मध्यावधि चुनावतर्फ बढेको छ ।

Top Changing Nepal

युट्युब सट्स