मेलम्चीको पानी आउन कम्तीमा ३ महीना लाग्ने
असार २६। काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र संघका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।
सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।
अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ ।
अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन नभएको उनले बताए । उनले भने, ‘त्यसका लागि हामीले सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल गरिरहेका छौँ ।’
भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जानकारी दिएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । उनका अनुसार वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुनः अवरुद्ध हुने सम्भावना हुन्छ ।
पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ । ‘हेडवर्क’ निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने सूचना अधिकारी पन्तले बताए । अरु संरचनामा भने सोही कम्पनीले गर्ने वा अरुले गर्ने कि भन्ने टुंगो लाग्न बाँकी छ ।
समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने उनले बताए ।
अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनः डाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जानकारी दिएको छ । अहिले ढुंगा, बालुवा थुपारेर सतह डाइभर्सन टनेलको मुखभन्दामाथि पुगिसकेकाले त्यो पनि हटाउनुपर्ने सूचना अधिकारीले पन्तले बताए । उनले भने, ‘आयोजनास्थलमा मर्मत गर्न अहिले रू। एक अर्ब लाग्ने हामीले अनुमान गरेका छौँ ।’
अहिले पुनः मेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र डेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । वर्षापछि भने आगामी वर्ष आयोजनामा क्षति हुन नपाओस् भनी संरक्षणका काम गर्नुपर्ने उनले बताए । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा संघीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् ।
त्यस्तै, तत्कालका लागि आयोजनास्थलसम्म पुग्न स्थानीय तहको सहयोगमा सडक खुलाउन सकिन्छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासँगको समन्वयमा उनीहरुसँग रहेका डोजर, तार जाली प्रयोग गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘तत्काल अस्थायी रुपमा सडक खुलाएर निर्माणस्थल पुगेपछि पछाडिबाट स्थायी काम अघि बढाउन सकिने देखिएको छ ।’
सडक पूरै अवरुद्ध भएर निर्माणस्थलसम्म पुग्न नसकिएकाले समितिले अहिले ड्रोनबाट नै त्यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । केही दिनमा नै खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्जलगायतका सरोकार राख्ने निकायका प्रतिनिधि जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने योजना बनाइएको छ । टोलीले त्यहाँ पुगेर स्थानीयसँग छलफल र त्यहाँको क्षतिको अध्ययन गर्नेछ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
