काठमाडौं । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले जारी पूँजी रु. १ अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी (बीब) आइएस’ ग्रेडिङ दिएको छ ।
यसैगरी, उक्त कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।