काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति लगेको आरोपको अस्वीकार गरेका छन् ।
उनले आज विहान संसदीय छानविन विशेष समितिको बैठकमा संसदमा बजेट पेश गर्नुको अघिल्लो रात अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । संसदीय छानविन समितिमा बयान दिन सिंहदरबार पुगेका उनले आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी दोहोर्याएका छन् ।
उनले भने, ‘अर्थ मन्त्रालयमा सुरक्षाकर्मी र मर्यादापलकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना हुँदैन । पसेको भएक थाहा भैहाल्थियो नि ।’ उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने पनि बताए । उनलाई अनधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।





