जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी
काठमाडौँ । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (¥यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ ।
स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ । कुनै पनि रोगको अप्रत्यासित वृद्धि भएको पाइएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाइएको छ ।
जिल्लाको टोलीले मुख्य अस्पताल र स्थानीय तहका अस्पताललाई जापानिज इन्सेफ्लाइटिससहित महामारीजन्य रोगको शङ्का देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । चापागाइँका अनुसार विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसँग बसेर छलफल र तयारी गरिएको छ । उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफ्लाइटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकले ती बिरामी र आफन्तलाई भेट गरी निरन्तररुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् । जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ ।
पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग जिल्लाको टोलीले छलफल गरेर तयार रहन भनिएको छ । रोग फैलिन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा पालिकाले काम गरिरहेको उनी बताउछन् । जिल्लाका पाँच पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिकाका चार, माडी नगरपालिकाका दुई, राप्ती, रत्ननगर र कालिका नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साउन २० गते पहिलोपटक भरतपुर र माडीमा सङ्क्रमण पुष्टि भएको थियो । गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । सङ्क्रमितमध्ये पाँच महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।
निश्चित समय र भूगोलमा अनपेक्षितरुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको परिभाषामा राखेको चापागाईँले बताए । जिल्लामा नौ जनामा प्रमाणित भएपछि समुदायमा दुई हजार सात सयमा सङ्क्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उनको भनाइ छ ।
जापानिज इन्सेफ्लाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलोपटक देखा परेको थियो । जिल्लामा शङ्कास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने गरिएको उनको भनाइ छ । चितवनमा सन् २०१८ मा एक जना, २०२० मा एक जना, २०२१ मा एक र हाल नौ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो ।
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् । जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले घोडा, सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।
जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सँगुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावर व्यवस्थित ढङ्गले पाल्ने, पशुपन्छीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकको भनाइ छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?