काठमाडौँ । भियतनाममा जारी एएफसी यू – १७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ। शुक्रबार राति नेपाल भियतनामसँग ५- ० ले पराजित भयो। आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे।
छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३- ० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४- ० ले हराएको थियो। समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ।
नेपाल भने अंकविहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।