काठमाडौँ । सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० विजय यादवले जानकारी दिए।
बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्की घाइते छन्। उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ पर्नेमा तीन जना भारतीय हुन्। पक्राउ पर्नेमा विहारका १९ वर्षीय रेहान भन्ने आलोक सिंह, सौरभकुमार यादव, गुलसनकुमार सिंह र धनकोल गाउँपालिका(१ बस्ने ३२ वर्षीय डिजे भन्ने घिरेन्द्र सहनी छन्। तीन जना भारतीय नागरिकलाई प्रहरीले बलरा नगरपालिका(३ लक्ष्मीपुरबाट मध्यराति पक्राउ गरेको हो। सहनीलाई भने धनकौल गाउँपालिकाबाट पक्राउ गरेको हो।
डिएसपी यादवका अनुसार उनीहरूले सहकारीमा भएका धनमाल चोरी गर्न खोजेका थिए। त्यसक्रममा कर्मचारी साजन कार्कीले प्रतिकार गरेका थिए। प्रतिकार गरेपछि उनीहरूले कार्कीमाथि चार राउन्ड गोली प्रहार गरेको डिएसपी यादवले बताए।
गोली प्रहार गरी उनीहरू भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका थिए। घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको थियो। उनीमाथि तीन राउन्ड गोली प्रहार भएको हो।
उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम छ। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छैन। आरोपित व्यक्तिहरूले पनि पेस्तोल भारतबाट किनेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी यादवले बताए।





