Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

आज साँझसम्म तीन निर्वाचन क्षेत्रबाहेकको सबै मतपरिणाम आइसक्छः आयोग प्रवक्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, १२
आज साँझसम्म तीन निर्वाचन क्षेत्रबाहेकको सबै मतपरिणाम आइसक्छः आयोग प्रवक्ता

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज साँझसम्म तीन निर्वाचन क्षेत्रबाहेकको सबै परिणाम आउने बताएका छन् ।

‘हामीले मंसिर १२ सम्म सबै निर्वाचन परिणाम प्रकाशित गरिसक्ने भनेकै हौं । समानुपातिकको ९० प्रतिशत मतगणना भइसकेको छ । विवाद रहेका तीन निर्वाचन क्षेत्रबाहेकको परिणाम आज साँझसम्म सबै आइसक्छ,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने । अब प्रतिनधिसभातर्फ उदयपुर १, सुनसरी ३ र ४ को परिणाम आउन बाँकी छ ।

दलहरुबीचको विवादका कारण ती क्षेत्रको मतगणनामा ढिलाइ भएको पनि उनले बताए । पौडेलले भने, ‘दलहरुबीच सानातिना कुरामा विवाद भइरहने, गणना रोकिने गर्दा ढिलो भएको हो । दलहरुबीच सहमति हुनासाथ मतगणना अघि बढ्छ ।’ उनले बाँकी निर्वाचन क्षेत्रको मतपरिणाम मंसिर २० सम्म आएपछि राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाउने विश्वास व्यक्त गरे । प्रवक्ताले भने, ‘हामीले दिएको समयसीमाभन्दा एक साताको फरक पर्ने भयो ।’

बाजुरा र स्याङ्जामा मतगणना कहिले हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा प्रवक्ता पौडेलले भने, ‘हामीले हिजो मात्र दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ सम्म पुनः मतदान गर्ने भनेका छौं । अब बाजुरा र स्याङ्जा १ को उस्तै अवस्था छ । यसबारे औपचारिक निर्णय भएको छैन । स्याङ्जामा हामीले पठाएको जाँचबुझ र अध्ययन गरी टोली फर्किएको छ । आज प्रतिवेदन देला । बाजुरामा पनि टोली गएको छ । दुवै क्षेत्रमा चाँडै निर्णय हुन्छ ।’

निर्वाचन आयोगले सत्ता, शक्तिको प्रभाव र दबाबमा नपरी तथ्यमा आधारित भएर कानुनसम्मत निर्णय लिने पनि पौडेलको स्पष्टोक्ति छ । उनले थपे,’ हामी कसैको दबाबमा पर्दैनौं । पार्टीको वा सत्ता र शक्तिको प्रभावमा निर्णय गर्ने भए त टोली पठाउने नै थिएन नि । दुवै पक्षका आआफ्ना कुरा छन् । आयोगले तथ्यमा आधारित भएर निर्णय गर्छ । आयोगले निर्णय लिन समय लाग्छ । यो चुट्कीमा भरमा गर्ने कुरा होइन ।’

समानुपातिक मतमा त गडबडी भयो भन्छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘आयोगले स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गराएको छ । हरेक निर्वाचन अधिकृतले आयोगलाई सहीछाप गरेर मतपरिणाम दिएका हुन्छन् । हामीले त्यही आधारमा आधारमा परिणाम प्रकाशित गर्ने हो । त्यसमा तलमाथि गर्ने कुरा आउँदैन । सबै प्रमाण हामीसँग हुन्छन् ।’

यसपटक २ देखि ३ प्रतिशत मत बदर भएको आयोगको पूर्वानुमान छ । निर्वाचनमा १० अर्बको खर्चसीमामा बसेर आयोगले खर्च गरेको पनि उनले बताए ।

Top Changing Nepal

युट्युब सट्स