गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।
सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागत साझेदारीमा काम भइरहेको छ ।
यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए । यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ । यहाँ निर्माण हुने सबै संरचनाको रु चार करोडको बराबरको डिपिआर तयार भएको उनले बताए ।
“धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ”, उनले भने, “अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ । यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।” मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उनको भनाइ छ ।
यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यहाँका स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने वडाध्यक्ष रामु थापामगरले बताए । प्राकृतिक स्वरुपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उनको भनाइ छ । “यो एउटा विशेष धार्मिक महत्व बोकेको स्थल हो”, उनले भने, “यो ठाउँलाई संरक्षण गरेर विकास गर्न आवश्यक छ, धार्मिक क्षेत्रका रूपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्य छ ।”
यो मन्दिरमुनि रहेको पाँचेधारे मुहानबाट मिनिरल वाटरको उद्योग सञ्चालनका लागि समेत आवश्यक प्रक्रियाको काम भइरहेको छ । यो भेगको आसपासमा रहेका पाँचवटा मुहानमध्ये यहाँको पानी उत्कृष्ट रहेकाले यो अवधारणा अघि बढाइएको गाउँपालिकाका योजना शाखाका प्राविधिक ज्ञानराज भट्टराईले जानकारी दिए । “यो ठाउँबाट मिनिरल वाटर उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको छ”, उनले भने, “यहाँ भएका पाँचवटा मुहानमध्ये यो मुहान पानी उद्योगका लागि उत्कृष्ट देखिएको छ । अब यहाँ उद्योग पनि सञ्चालनमा आउँछ ।”
यो क्षेत्रमा जलधारको राम्रो सम्भवना रहेकाले पानी मुहानसँगै यहाँको पञ्चकञ्या देवीथानको पनि संरक्षण भइरहेको स्थानीयवासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिए । यहाँका पानीका मुहान रहेको ठाउँलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको उनको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयको नेपाल जलावायु नमूना कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा तीनधारे र पात्लेखेत भुल्भुले मुहानको संरक्षण थालिएको हो । यही भुलभुले मुहानको नामबाट गाउँको नामसमेत भुल्के रहेको स्थानीयको भनाइ छ । यो ठाउँको भुलभुलेबाट गुप्तेश्वरसम्म पाँचवटा मुहान छन् । यी मुहानमा बाह्रै महिना एकनासले पानी आइरहने स्थानीयवासीले जानकारी दिए । मुहान संरक्षणको काम थालिएकाले यहाँको विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
