पर्वत । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा ९ पुरुष, ७ महिला र २ बालबालिका घाइते भएका छन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै, अन्यको अवस्था भने सामान्य रहेको छ ।
अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।


