झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण
झापा । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ ।
उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ ।
यहाँका किसानले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी–नाइन जातका केरा लगाउन थालेका छन् ।
गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका–४ र गौरीगञ्ज गाउँपालिका–५ मा गरी ४१ बिघा जमिनमा जी–नाइन जातको व्यावसायिक केरा खेती सुरु गरेको छ । भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले रु दुई करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ ।
फार्मका अध्यक्ष वासुदेव उप्रेतीले सुरुमा वीरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताए ।
उनले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जी–नाइन जातका केराको बिरुवा लगाएको बताए । नौ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ । उनले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताए ।
स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताए । उनले भने, “हामीले ८० प्रतिशत प्राङ्गारिक मलको प्रयोग गरेका छौँ । बीस प्रतिशत मात्र युरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं ।” पाँच जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएको उनले बताए । उनले गौरीगञ्जमा दुई महिना अघि मात्र २५ बिघा जमिनमा ४० हजार विरुवा रोपण गरेको बताए । उनले बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यवासायिक खेती गरिने बताए ।
“केरा खेतीमा व्यावसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदोरहेछ”, उनले भने, “विज्ञलाई सोध्दै र अन्य किसानसँगको अनुभवको आधारमा खेती गरिरहेका छौँ ।” उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आशा रहेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताए । उनले ज्ञान केन्द्रले हाल जिल्लामा दुईवटा केराको ब्लक सञ्चालन गरिरहेको बताए ।
यसैगरी, जिल्लामै पहिलोपटक रातो केराको खेती गर्दै आएका झापा गाउँपालिका चन्द्रप्रसाद बस्नेतलाई रु एक लाख राशिको पुरस्कारबाट हालै सम्मान गरिएको छ । बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुस्कृत गरेको हो ।
बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति भएका हुन् । इजरालबाट फर्केर विगत चार वर्ष अघिदेखि उनले २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी–नाइन र रातो केराको खेती गर्दै आएका छन् । रासस
सम्बन्धित समाचार
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

