काठमाडौं । गौर हत्याकाण्डका पीडितसँग प्रचण्ड नेतृत्वको सरकारले पाँच बुँदे सहमति गरेपछि केन्द्रीय राजनीति तरंगित बनेको छ । खासगरी सत्ता गठबन्धनकै मुख्य घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिवेला प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट बनेका छन् ।
उनले आफूलाई फसाउने उद्देश्यले प्रचण्डले गौर हत्याकाण्डको फाईल खोल्न लागेको भन्दै सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गुनासो पोखेका थिए । सोलगत्तै देउवाले प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेकार भेटेको र सो भेटमा उपेन्द्र यादव पनि सामेल रहेको स्रोतको दाबी छ ।
देउवा र यादवसँगको भेटमा भने प्रधानमन्त्री प्रचण्डले आफूले आन्दोलनरत पक्षको भावनालाई कदर गरेर वार्ता समिति बनाएको र गृहमन्त्रालयले ५ बुँदे सहमति गरेको स्पष्टीकरण दिएका थिए । कतिपयले भने प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादव र माधव नेपाललाई साईजमा राख्नको लागि गौर हत्याकाण्डको फाईल खोलेको र ललिता निवास प्रकरणमा माधव नेपाललाई अनुसन्धानमा तानेको भनेर पनि टिप्पणी गर्न थालेका छन् ।
जसपाले त सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिलाई लिएर आपत्ति जनाएको छ। र, उक्त सहमतिको विरुद्धमा आन्दोलनमा उत्रिनेसम्मको चेतावनी दिएको छ । हिजै यादवले काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसँग छलफलसमेत गरिसकेका छन् । सो छलफलमा नेताहरुले प्रधानमन्त्री प्रचण्डले अध्यक्षविरुद्ध घेराबन्दी गरेको भन्दै आवश्यक परे सरकारबाट बाहिरिएर आन्दोलनमा उत्रिनुपर्ने धारणा राखेको कुरा बाहिर आएका छन् ।
जसपाका अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग गम्भीर ढंगले कुराकानी राखेकोले आजरभोलिभित्रै राजनीति नयाँ ढंगले पनि अघि बढ्नसक्ने चर्चा चलेको छ। यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको कुरा बाहिर आएको छ । एमालेले सदन अवरुद्ध गरिरहेको छ । एमाले गृहमन्त्री, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीको राजीनामा माग्नेगरि अघि बढेको छ। यस्तोमा सरकार परिवर्तनको तहसम्म राजनीति पुग्ने केही राजनीतिक विश्लेषकहरुको दाबी छ ।
यही सन्दर्भमा कांग्रेस सभापति देउवाले पार्टीको संसदीय दलको समितिको बैठक बोलाएका छ्न । आजै दिउँसो ४ बजे देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध अन्त्य र उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताईएको छ । कतिपयले देउवाले एमालेको साथ लिएर आफ्नै नेतृत्वमा सरकार गठनको लागि ठोस पहलकदमी लिन लागेको पनि भनेर भनेका छन् ।
एमाले नेताहरुले भने अहिले आफूहरु सरकार परिवर्तनको खेलमा नलागेको स्पष्ट पार्दै आएका छन् । तर, उनीहरुले भित्रभित्रै प्रचण्डलाई हटाउनको लागि देउवासँग निर्शत सहकार्य गर्न पनि पहल गरेको गाईगुँई चलेको छ ।


