मिथिलामा छठपछि सनेसको चटारो
महोत्तरी । छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ (कोसेली) को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ (छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार) पाकिरहेका छन् ।
छठ सकिएसँगै मिथिलाका गृहिणीलाई सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली, इष्टमित्र, मितरमितिनी र आफन्तलाई पठाउने पुरानो स्थापित परम्परा हो । अहिले मिथिलानी (मिथिलाका नारी) लाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धित कहाँ पठाउन भ्याइनभ्याइ छ ।
“धान थन्क्याएर सकिएको छैन, हिउँदे बाली लगाउने चटारो पनि छ, तर अहिले यी कामका बीच नै छठको ‘सनेस’ पकाउने र पठाउनु पर्दा भ्याइनभ्याइ छ”, महोत्तरीको बर्दिबास–१२ विजलपुराकी गीतादेवी महतो भन्छिन्, “छोरीको घरमा त पठाइयो, अब फुपू र मितकहाँ पठाउन बाँकी छ ।”
मिथिलामा छठ र तीलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ कुटुम्बजन, मित÷मितिनी र अत्यन्त नजिकी इष्टमित्र कहाँ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने सनेसमा ठकुवा, भुसुवा, पिरुकिया र केरा हुने गर्छ । यसरी पठाइने सनेस छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्य कहाँ एक ÷दुई सातासम्म लगाएर पठाउने चलन छ । पकाउने काम गृहिणीको भए पनि सनेस पु¥याउन भने बाबु, काका, दाजुभाइ जाने गर्छन् । यसरी पठाइने सनेसमा छठमा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाइएको हुन्छ ।
“यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडबाडपछि आपसी भेटघाटको अवसर पनि हो”, बर्दिबास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत यादव भन्छन्, “यसमा आशिष पु¥याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।” यो चलन सांस्कृतिक, सामाजिक र पारिवारिक सौन्दर्य पनि रहेको यादवको भनाइ छ ।
मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’ को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मितरमितिनीले बिर्सेकी भन्ने खुल्दुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिलेपहिले जस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ । कामका लागि टाढाटाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बुढापाकाले धान्नुपरेको औरही नगरपालिका–७ का ७० वर्षीय मोहन महतो बताउँछन् ।
पर्व सकिएलगत्तै युवापुस्ता आ–आफ्ना जिम्मेवारीमा फर्किएपछि ‘सनेस’ पु¥याउने जिम्मेवारी आफ्नो नछुटेको भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुको भनाइ छ ।
“पर्व सकिएलगत्तै तीन जना छोराहरु काममा गए”, भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुले भने,“सनेस लिएर मै जानुपर्ने हुन्छ ।” यो परम्परा कामको चापले बिस्तार हराउँदै जाने हो कि भन्नेमा उनी चिन्तित छन् । “घरगृहस्थीमा युवापुस्ता छैनन्, सबैजसो काममा बाहिर (अन्यत्र) जान्छन्, अब भन्नोस् न, हामीपछि यो के थेगिएला ?”, थारु भन्छन् ।
“पवनी (पर्व) सकिएकै दिन सानो छोराले सनेस छोरीकहाँ पु¥याएर आयो”, ठकुवा पकाउन र भुसुवा बटार्न व्यस्त रहेकी गौशाला–१० की शीलवती महतो भन्छिन्, “अब नन्द र साथीको घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत खुवाइने यी परिकार यसपालि मङ्सिरभरि नै खाजा खाइने उनको भनाइ छ ।
खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घिउ र गहुँको पिठोबाट बन्ने परिकार खाँदा शरीर तात्ने, चिसोका विकार ठीक हुने र काममा पूmर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि बढ्दो जाडोबीच ठकुवा, भुसुवा खाने, खुवाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारुको भनाइ छ ।
अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा, भुसुवा बनाउन लागेका छन् । सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा, भुसुवाको मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

