Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

सरकारी ढुकुटीमा ब्रम्हलुट, कर्मचारीहरु विदेश शयरमा लर्को

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, १५
सरकारी ढुकुटीमा ब्रम्हलुट, कर्मचारीहरु विदेश शयरमा लर्को

काठमाडौं । देश अस्तव्यस्त छ, भूकम्प पीडितका लागि राहत दिन सरकारले सकिरहेको छैन तर सरकारमा रहेका मन्त्री र कर्मचारीहरु बेलगाम विदेश शयरमा निस्किएका निस्कियै छन् ।

प्रधानमन्त्री, मन्त्री मात्र होइन ठूलो संख्यामा कर्मचारीहरु विदेश शयरमा लर्को लागिरहेका छन् । प्रधानमन्त्री प्रचण्डसहित वन मन्त्री वीरेन्द्रकुमार महत्तो कोप सम्मेलनमा निस्किएका छन् ।

अर्थ सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालहरु विदेश भ्रमणमा छन् । आधा दर्जन मन्त्रीहरु अहिले विदेश शयरमा छन् ।

यस्तै दर्जनौं कर्मचारीहरु पनि विदेश शयरमा निस्किएका छन् । केही भर्खरै विदेशबाट फर्किएका छन् । यसरी विदेश शयरमा निस्कनेमा शहरी विकासमन्त्री सीता गुरुङ अग्रपक्तिंमा छिन् ।

उनी आगामी १९ मंसिरमा दोहा उडने तयारीमा छन् । यस अघि सीता गुरुङले अवकाशको मुखमा रहेका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई लिएर नेदरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशमा भ्रमण गर्न गएका थिए ।

यस अघि सीताले सहसचिव दिलीप भण्डारी, नगर विकास कोषका कृष्णप्रसाद सापकोटालगायतका कर्मचारी बोकेर एक साता मलेसिया भ्रमण सकाएर फर्किएकी थिइन । शहरीका एक पछि अर्को कर्मचारीहरु विदेश उडेका उड्यै छन् ।

गत सातामात्र सहरी विकास मन्त्रालयका सहसचिव तथा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ तथा मन्त्रालयका सहसचिव विनु बज्राचार्य एक हप्ता लामो जापान भ्रमण पूरा गरेर गत हप्ता मात्र स्वदेश फर्किए, स्मार्ट सिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिएर उनीहरु स्वदेश फर्किसकेका छन् ।

यस्तै शहरीका सिनियर सहसचिव पदम मैनालीलगायतका कर्मचारी सहभागी भएका थिए । एक महिनाबीचमा मैनालीले दोस्रो पटक विदेश भ्रमण गरेका छन् । तिहारको संघारमा उनी इन्डोनेसियासम्म पुगेका थिए ।

दशैंको संघारमा मन्त्रालयका अर्का सहसचिव तथा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सदस्यसचिव चक्रवर्ती कण्ठ युरोप भ्रमणमा पुगेर फर्किएका छन् ।

यही हप्ता मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर चन्द्र शेखर महतोको नेतृत्वमा कर्मचारीहरूको अर्को एउटा टोली चीन भ्रमणमा जाने भएको छ । यसलाई पूर्व प्रशासकहरु सरकारी ढुकुटीको ब्रम्हलुट मान्छन् ।

Top Changing Nepal

युट्युब सट्स