काठमाडौं । सत्ता गठबन्धनमा कांग्रेस–माओवादीबीच खटपट सुरू भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निश्कर्ष छ । उनले आफ्नो असन्तुष्टि कांग्रेस सभापति शेरबहादुर देउवासँग पोखिसकेका छन् ।
तर, देउवाले भने त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै शेखर कोइरालातर्फ आरोप तेर्साउने गरेका छन् । कोशीमा माओवादीले कांग्रेसबाट पाएको यो पहिलो धोका होईन । यसअघि पनि दुई पटक कांग्रेसले माओवादीलाई धोका दिएको माओवादीको कोशी प्रदेश कमिटीको निश्कर्ष छ ।
माओवादी कोशीले कांग्रेससँगको सहकार्य तत्काल तोड्नुपर्ने निश्कर्ष निकालेको छ । तर, केन्द्रको निर्णय कुरेर माओवादी कोशी प्रदेश कमिटीले कांग्रेससँगको सहकार्यबारे निर्णय गर्न नसकेको भनिएको छ । तर, अहिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले माओवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् । त्यसमा माओवादीबाट दुई जना समेटिएका छन् ।
यता, केन्द्रमा भने कांग्रेसको शेखर कोइराला समूहले निरन्तर प्रधानमन्त्री प्रचण्डको आलोचना र विरोध गरिरहेको छ । सार्वजनिक रुपमै कोइराला पक्षधर नेताहरुले प्रधानमन्त्री दाहालको विकल्प खोजिनुपर्ने आवाज उठाएका छन् । पूर्व महामन्त्रीसमेत रहेका सांसद डा. शशांक कोइरालाले प्रचण्डलाई प्रधानमन्त्रीबाट विस्थापित गरेर माधव नेपाललाई स्थापित गराउनुपर्ने आवाज उठाएका छन्।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीको रुपमा प्रचण्डले अझै एक वर्ष नेतृत्व लिने समझदारी छ । तर, कांग्रेस नेताहरुले सहमतिविपरित नै प्रचण्डलाई समयअघि नै सरकारको नेतृत्वबाट विस्थापित गर्न आवाज उठाउनु र त्यहीअनुसार गृहकार्य गर्नुले सत्ता गठबन्धनमा असमझदारी विकास भएको छ ।
एमाले नेतृत्वले शेखर कोइराला समूहसँग निरन्तर सहकार्य गरिरहेको छ । कोशीमा एमालेकै समर्थनमा कोइराला पक्षधर केदार कार्की मुख्यमन्त्री बन्न सफल भएका हुन् । अहिले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको शेखर समूहले एमालेकी उम्मेद्वारलाई विजयी गराएर गुण तिरिसकेको छ । यो सहकार्य केन्द्रीय सत्ता सहकार्यसम्म पुग्ने अनुमान गरिएको छ । यसको लागि ओली र शेखर निरन्तर सम्वादमा रहेको भनिएको छ ।
तर, शेखरको साथ लिएर प्रचण्डलाई विस्थापित गर्न नसकिने निश्कर्षमा ओली पुगेका छन् । उनले प्रचण्डसँगै वान टु वान भेटवार्ता गरेर सत्ता–सहकार्यको विषयमा छलफल थालेका छन् । कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा एक्सपोज गरेको ओलीलाई मन परेको छैन् । उनले पार्टीको हालै बसेको संसदीय दलको बैठकमा समेत माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा प्रस्तावि गरिएकोमा आपत्ति जनाए ।
माधव नेपालको नामै नलिई ओलीले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीको रुपमा कांग्रेसको नेतृत्व तहमा रहेका नेताहरुले प्रस्ताव गर्नु आश्चर्यजनक भएको उनको टिप्पणी थियो । ओलीले प्रचण्डलाई सत्ता संकट पैदा भएको भए आफू काँध थाप्न तयार रहेको भन्दै अब नवीन ढंगले समझदारी गर्नुपर्ने आवश्कत्ता औंल्याएका छन् ।
उनीहरुबीच टिआरसी विद्येयक टुँगो लगाउने विषयको निहुँमा छलफल भैरहेको छ । तर, टिआरसीभन्दापनि एमाले–माओवादी सहकार्यबारे बढि यी दुई नेताबीच छलफल हुने गरेको स्रोतको दाबी छ । ओलीले प्रचण्डलाई तीन वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । र, त्यसपछिको दुई वर्ष आफू प्रधानमन्त्री बन्ने उनको प्रस्ताव छ ।
यसमा दुवै नेता सकारात्मक बनेको बताईएको छ । एमाले र माओवादीबीच सत्ता–सहकार्यको नयाँ समझदारी भए रवि लामिछाने नेतृत्वको रास्वपापनि नयाँ गठबन्धनमा जोडिने बताईएको छ । उपेन्द्र यादव नयाँ गठबन्धनको लागि हुने छलफलमा ओलीसँग निरन्तर सम्पर्कमा रहेको बताईएको छ । उता, राजेन्द्र लिङ्देनसँग त ओलीको राम्रै दोस्ती छ ।
ओलीले प्रचण्डसँग सत्ता सहकार्यबारे छलफल गरेको देउवाले पनि चाल पाएका छन् । उनी शेखर समूहको अतिरिक्त चलखेलका कारण पार्टीले क्षति व्यहोर्नुपर्ने उनको चिन्ता छ । उनी शेखर कोइराला समूह गठबन्धनमा इमानदार नबन्दा माओवादी बिच्किन लागेको भन्दै आफूनिकट नेताहरुसँग निराश देखिन थालेका छन् ।


