काठमाडौं । आजकल विभिन्न सञ्चारमाध्यममा यस्तो विज्ञापन देखिन्छ, जसले केही मिनेट वा दिनमै असम्भव उपलब्धि हुने दाबी गर्छ । उदाहरणका लागि, ‘तपाईंको शरीरको तौल ४५ मिनेटमै कम हुनेछ’, ‘कपालका रौँ फेरि पलाउने’, ‘अनुहारका चायाँ हटेर जवान देखिने’ भन्ने जस्ता आश्वासनहरू दिइन्छ ।
तर यस्ता विज्ञापनमा विश्वास गरेर सामग्री किन्ने मानिसहरू आर्थिक ठगीको सिकार मात्र हुँदैनन्, स्वास्थ्यमा पनि गम्भीर जटिलताहरू भोग्न बाध्य हुन्छन् । विशेष गरी मानिसको कमजोरीलाई केन्द्रित गर्दै आकर्षक दाबी गर्ने विज्ञापनले धेरैलाई भ्रममा पारिरहेको छ ।
उदाहरणका लागि, ‘खानेकुरा कम गर्न नपर्ने, व्यायाम नगरी तौल घटाउने चमत्कारी औषधि’ वा ‘कम्मरको तौल घटाउने पेटी’ जस्ता उत्पादनका दाबीहरूले उपभोक्तालाई झुक्याउँछन् ।
छाला रोग विशेषज्ञ डा। बिमला ओझाका अनुसार, यस्ता विज्ञापनले गलत सन्देश दिन्छन् र वैज्ञानिक आधारमा पनि यिनको कुनै प्रमाण छैन । शरीर स्वस्थ राख्न व्यायाम, पोषणयुक्त खाना र प्राकृतिक उपाय नै उत्तम हो ।
यस्ता विज्ञापनले समाजमा गलत धारणाको विकास गर्छन्, जसले मानिसहरूलाई चमत्कारी उपायहरूमा निर्भर गराउँछ । यथार्थमा, यस्ता उत्पादनहरूले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्छन् ।
स्वास्थ्य विज्ञहरूका सुझाव
– यस्ता भ्रामक विज्ञापनहरूको पछि नलाग्नुहोस् ।
– कुनै पनि औषधि वा सौन्दर्य सामग्रीको प्रयोग गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस् ।
– स्वस्थ जीवनशैलीमा ध्यान दिनुहोस्, जसमा सन्तुलित आहार र नियमित व्यायाम समावेश छन् ।
यस्ता विज्ञापनको सिकार नबन्न सचेत रहनुहोस् र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् । विज्ञापनका भ्रामक दाबीहरूले ठगीमा नपर्न सबैलाई सचेत गराउन आवश्यक छ ।