काठमाडौं । देशको अग्रणी वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंक आजबाट आफ्नो स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २८ औं वार्षिकोत्सवको अवसरमा ग्राहक, नियामक, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा विश्वस्तरीय, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् १९९८ मा स्थापना भएको बैंकले हालसम्म आइपुग्दा नेपालभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकसँग सेवा प्रवाह गर्दै आएको छ ।
बैंकले विशेषगरी डिजिटल फस्ट बैंकिङ्ग मोडेललाई प्राथमिकता दिँदै, आधुनिक प्रविधिको प्रयोगमार्फत देशको कुना–कुनासम्म सहज बैंकिङ्ग पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकले मुगु, कालिकोट, बझाङ, जुम्ला, सल्यान, रूकुम जस्ता दूरदराजका जिल्लाहरूमा शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूलमन्त्रमा अगाडि बढ्दै आएको बैंकले आजको दिनसम्मको यात्रालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । साथै, बैंकले आगामी दिनमा ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने, उत्तरदायी बैंकिङ्ग अभ्यासलाई बलियो बनाउने र देशको आर्थिक वृद्धिमा थप योगदान गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ ।