माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
काठमाडौं । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कार्तिक १५ देखि लागू हुने एनसेलले जनाएको छ ।
नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् ।
दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरु रहेका छन् ।
एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए ।
उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पु¥याए र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए ।
फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको वाटु डीआरसी एसए (WARU DRC SA)का अध्यक्षका रूपमा कार्यरत छन् ।
नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड (AI Powered) र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ ।”
एनसेलको सञ्चालक समितीले फोलेको नेतृत्वमा गहिरो विश्वास व्यक्त गर्दै भन्यो, “हामी यस महत्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं । उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्वपूर्ण हुनेछन् ।”
फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीड (INSEAD)बाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स (Global Management and Governance)मा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा–केन्या दुबैको नागरिक हुन् ।
एनसेलको बारेमा
एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । प्रत्येक नेपालीलाई आफ्ना सेवाहरुमार्फत जोड्दै कनेक्टिभीका लाभहरु प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आईरहेको बताइएको छ।
स्पेक्ट्रलाइट यूके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्ताहरूलाई नविनतम र उत्कृष्ट सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ, जसले डिजिटल नेपालका आकांक्षाहरू हासिल गर्न योगदान पु¥याउनेछ । एनसेल आफ्नो दृढ प्रतिबद्धता र क्षमतासहित डिजिटल सेवा, नवप्रवर्तन, लगानी तथा जीवन सहज र समृद्धि बनाउने उदेश्यसहित सेवाहरूको विविधीकरणतर्फ अग्रसर छ, जसले आम नेपालीहरूको जीवनलाई अझ समृद्ध बनाउनेछ ।
डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहादअन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो । रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ ।
एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो । आफ्नो स्थापना पश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको एनसेलले जनाएको छ । यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको बताइएको छ । यी पहलहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासलाई सहयोग पु¥याई रहेका छन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

