काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा २.०१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.७७ प्रतिशतले बढेको छ। बैंकले तीन महिनामा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब ८० करोड रुपैयाँ थियो।
बैंकको कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यो आम्दानी ३ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ थियो।
तर, सञ्चालन मुनाफा भने घटेको छ। चालु आवको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यो रकम १ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ थियो।
पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ र जगेडा कोष ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।





