काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्र प्रक्रियामा रितपूर्वक आवेदन दिने कम्पनीहरूमध्ये न्यून मूल्य प्रस्ताव गर्ने सो चिनियाँ कम्पनी छनोट भएको हो।
पूर्वयोग्यता पूरा गरेका ६ कम्पनी प्रतिस्पर्धामा सहभागी भएका थिए । तीमध्ये चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले सबैभन्दा कम मूल्य प्रस्ताव गर्दै टेन्डर हात पारेको केन्द्रीय बैंकले जनाएको छ। सम्झौताअनुसार सो कम्पनीले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाई, डिजाइन तथा आपूर्ति गर्नेछ।
यसका लागि राष्ट्र बैंकले उक्त कम्पनीसँग १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब १ अर्ब ४८ करोड रुपैयाँ) मा सम्झौता गरेको छ।





