रौतहट । चिसो बढेसँगै रौतहट जिल्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम गौरसहित गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइ लगायतका क्षेत्रहरूमा चिसोका कारण दैनिक जीवन प्रभावित भएको छ ।
शनिबार बिहानदेखि नै जिल्लाभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । तुसारो परेसँगै अत्यधिक चिसो बढ्दा मानिसहरू घरबाहिर निस्कन कठिन भएको छ । चिसोका कारण बजार क्षेत्र सुनसान देखिएका छन् भने सडकमा सवारी साधनको आवागमन पनि न्यून भएको छ ।
हुस्सु र कुहिरोले बिहानैदेखि चिसो बढेपछि सर्वसाधारण घरभित्रै सीमित हुन बाध्य भएका छन् । विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुरहरू काममा जान नसक्दा बढी मारमा परेका छन् ।
चिसोको प्रभावले सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीको चहलपहल घटेको छ । केही कार्यालयहरूमा दिनभर सेवाग्राही नआएको अवस्था देखिएको छ।
चिसोका कारण विद्यार्थी, मजदुर, गरिब तथा असहाय वर्ग र ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । शुक्रबारदेखि रौतहट आसपासका क्षेत्रमा घाम नलाग्दा चिसो अझै बढ्ने अनुमान गरिएको छ ।




